सप्तरी, १७ कात्तिक । आउँदो मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि बिहीबार सप्तरी सहित जिल्लाहरुमा हर्षोल्लासका साथ उम्मेदवारी मनोनयन दर्ता गराइएको छ ।
आउँदो मंसिर २१ गते हुने प्रतिनिधिसभामा ४ र प्रदेशसभामा चुनिने ८ सदस्यका लागि कांग्रेस, एमाले–माओवादी गठबन्धन, संघीय समाजवादी फोरम नेपाल–राजपा गठबन्धन, राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्तिलगायतका पार्टीका उम्मेदवारले तामझामसहित उम्मेदवारी दर्ता गराएका छन् ।
राजविराजभन्दा तीन किलोमिटर टाढा सप्तरीको मलेठस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र वसविटीमा राखिएको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयनका लागि विभिन्न राजनितिक दलका उम्मेदवार, नेता तथा कार्यकर्ता नाराजुलुस र बाजागाजासहित पुगेका थिए ।
निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ का लागि कांग्रेसका रामदेव साहले मनोनयन दर्ता गराउनुभएको छ । त्यस्तै वाम गठवन्धनका तर्फवाट अशोक कुमार मण्डल (अमर), संघीय समाजवादी फोरम नेपाल–राजपा गठवन्धनवाट डा. सूर्यनारायण यादवलगायतले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेश सभातर्फ निर्वाचन क्षेत्र नं. १ (क) मा कांग्रेसका डा. सुवोध पोखरेल, वाम गठवन्धनका सत्यनारायण मण्डल, संघीय समाजवादी फोरम नेपाल–राजपा गठवन्धन, राजकुमार लेखी तथा प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ (ख) मा कांग्रेसका बद्री महात्मान, वाम गठबन्धनका मो. सकिल अली, संघीय समाजवादी फोरम नेपाल–राजपा गठबन्धनवाट नवलकिशोर साहको उम्मेदवारी परेको छ ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा कांग्रेसका सकलदेव सुतिहार, वाम गठवन्धनका तर्फबाट पूर्व सिंचाईमन्त्री उमेशकुमार यादव, संघीय समाजवादी फोरम नेपाल–राजपा गठबन्धनवाट उपेन्द्र यादवले मनोनयन दर्ता गराएका छन् । क्षेत्र नम्बर २ बाटै प्रतिनिधिसभा सदस्यका लागि नेपाल सदभावना पार्टी (गजेन्द्रवादी) का राष्ट्रिय अध्यक्ष विकास तिवारीले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेश सभा २ (क) मा कांग्रेसका महानन्द यादव, वाम गठवन्धनका सरोज मण्डल, संघीय समाजवादी फोरम नेपाल–राजपा गठवन्धनवाट शैलेन्द्र साह तथा प्रदेश सभातर्फ निर्वाचन क्षेत्र नं. २ (ख) मा कांग्रेसका रञ्जित कर्ण, वाम गठवन्धनका महेश यादव, संघीय समाजवादी फोरम नेपाल राजपा गठवन्धनवाट मनिष कुमार सुमनको मनोनयन दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ मा कांग्रेसका दिनेश यादव, वाम गठवन्धनका ताराकान्त चौधरी, संघीय समाजवादी फोरम नेपाल–राजपा गठवन्धनबाट चन्द्रकान्त चौधरीको मनोनयन दर्ता भएको छ । प्रदेश सभातर्फ निर्वाचन क्षेत्र नं. ३ (क) मा कांग्रेसका मोहम्मद समिम, वाम गठवन्धनका अब्दुल मजिद साकिर, संघीय समाजवादी फोरम नेपाल–राजपा गठवन्धनका दिनेश यादव तथा प्रदेश सभातर्फ निर्वाचन क्षेत्र नं. ३ (ख) मा कांग्रेसका भगवती यादव, वाम गठवन्धनका महेश चौधरी, संघीय समाजवादी फोरम नेपाल(राजपा गठवन्धनका विदेश्वर यादव विक्कीको उम्मेदवारी परेको छ ।
यसैगरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ४ मा कांग्रेसका तेजुलाल चौधरी, वाम गठवन्धनका मो. ईस्लाम, संघीय समाजवादी फोरम नेपाल–राजपा गठबन्धनबाट मृगेन्द्रकुमार सिंह यादवको मनोनयन दर्ता भएको छ । ४ नम्बर क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा माक्र्सवादीवाट मकुन चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेशसभातर्फ निर्वाचन क्षेत्र नं. ४ (क) मा कांग्रेसका सिताराम साह, वाम गठवन्धनका गोविन्द्रकुमार न्यौपाने, संघीय समाजवादी फोरम नेपाल–राजपा गठवन्धनका अभिषेक यादव तथा प्रदेश सभातर्फ निर्वाचन क्षेत्र नं. ४(ख) मा कांग्रेसका विवेकानन्द झा, वाम गठवन्धनका शशिकुमार यादव, संघीय समाजवादी फोरम नेपाल–राजपा गठवन्धनका विनोद चौधरीको उम्मेदवारी परेको निर्वाचन अधिकृत सानुभाई केसीले वताएका छन् ।
त्यस्तै नेपाल पत्रकार महासंघ सप्तरीका दुई पूर्व अध्यक्षहरु शम्भु झा र प्रकाश खतिवडा प्रदेशसभाका लागि क्रमशः सप्तरी निर्वाचन क्षेत्र नम्बर १ को ‘क’ र १ को ‘ख’ वाट स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको छ ।

जन्मभूमिको मायाले सप्तरी रोजेको अध्यक्ष यादव

यसैबीच संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा सदस्यका लागि सप्तरीको निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।
आउँदो मंसिर २१ गते हुने दोस्रो चरणको चुनावका लागि यादवले बिहीबार निर्वाचन आयोगको कार्यालय सप्तरी पुगेर आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो । जन्मभूमिसमेत रहेको सप्तरीबाट फोरम नेपालका अध्यक्ष यादवले पहिलो पटक प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी दिनुभएको हो । यसअघि उहाँ सुनसरीबाट निर्वाचित हुनुभएको थियो ।
निर्वाचन आयोगको कार्यालयमा उम्मेदबारी दर्ता गराउँदै अध्यक्ष यादवले जन्मभूमिप्रतिको मायाले गर्दा सप्तरीबाट उम्मेदवारी दिएको प्रतिक्रिया दिनुभयो । संघीय समाजवादी फोरम नेपाल सप्तरीको ब्यानरमा नेताकार्यकर्ता र समर्थकसहित दिउँसो दुई बजे उम्मेदवारी दर्ताका लागि यादव निर्वाचन आयोगको कार्यालय जानुभएको हो । फोरम नेपालका अध्यक्ष यादवलाई सप्तरीमा राष्ट्रिय जनता पार्टी नेपालले समर्थन गरेको छ ।
आउँदो मंसिर २१ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभामा चुनावका लागि सप्तरीबाट कुल तीन लाख ४६ हजार २१४ जना आफ्नो मताधिकार प्रयोग गर्ने मतदाता रहेका छन् ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीका अनुसार सप्तरीमा चारवटा प्रतिनिधिसभा र आठ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् । यसअघि असोज २ गते सम्पन्न तेस्रो चरणको स्थानीय तह चुनावमा सप्तरीको मतदाता संख्या तीन लाख ३१ हजार ६७९ रहेको थियो।
यसको तुलनामा प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा १४ हजार ५३५ मतदाता बढेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।  सप्तरीमा नौ नगरपालिका, नौ गाउँपालिका गरी १८ वटा स्थानीय तह रहेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!