काँकडभिट्टा, १६ कात्तिक । पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले वाम गठबन्धनको तर्फबाट आज झापा क्षेत्र नं ५ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवारी मनोनयनपत्र दर्ता गराउनुभएको छ ।

Advertisement

सदरमुकाम चन्द्रगढीस्थित जिल्ला हुलाक कार्यालयमा स्थापना गरिएको झापा क्षेत्र नं ५ को निर्वाचन अधिकृतको कार्यालय पुगेर एमाले अध्यक्ष ओलीले प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन पत्र दर्ता गराउनुभएको हो ।

एमाले अध्यक्ष ओली २०४८, २०५१, २०५६ र २०७० सालमा भएको निर्वाचनमा झापाको सोही क्षेत्रबाट संसद् सदस्यमा निर्वाचित हुनुभएको थियो । वाम गठबन्धनको साझा उम्मेदवारका रुपमा नेता ओलीको मनोनयन पत्रमा लोकबहादुर अधिकारी प्रस्तावक र नेत्रप्रसाद दाहाल समर्थक रहनुभएको छ ।

नेता ओलीको मनोनयन दर्ताका लागि एमाले) र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताको ठूलो पङ्क्ति निर्वाचन अधिकृतको कार्यालय पुगेको थियो ।

अपराह्न २ः२० बजे उहाँ गृहनगर दमकबाट गाडी चढेर उम्मेदवारी दर्ताका लागि चन्द्रगढी आइपुग्नुभएको हो । मनोनयनपत्र निर्वाचन अधिकृत शकुन्तला कार्कीलाई हस्तान्तरण गरिसकेपछि नेता ओलीले केहीबेर पत्रकारहरुलाई समय दिनुभएको थियो ।

उहाँले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनबाट मुलुकले बहुमतको स्थिर सरकार पाउने विश्वास व्यक्त गर्दै वाम गठबन्धन मुलुकको आर्थिक समृद्धि र जनताको हितका लागि आवश्यकता भएको बताउनुभयो ।

सोही क्षेत्रबाट नेपाली काँग्रेसको तर्फबाट डा खगेन्द्र अधिकारीले उम्मेदवारी दर्ता गराउनुभएको छ । झापा क्षेत्र नं ५ मा वाम गठबन्धन र काँग्रेसबीच मुख्य प्रतिस्पर्धा रहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!