काठमाडौँ, १५ कात्तिक । राष्ट्रिय जनता पार्टी नेपाल र काँग्रेसबीच सीटमा कुरा नमिलेपछि लोकतान्त्रिक गठबन्धन नबन्ने भएको छ ।

Advertisement

धनुषाको ३ नम्बर क्षेत्र काँग्रेस नेता विमलेन्द्र निधिले नछाडेपछि कुरामा सहमति बन्न नसकेको हो ।

धनुषाका तीन नम्बर क्षेत्रबाट राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो पनि चुनाव लड्ने र त्यहाँ काँग्रेसले सहयोग गर्नुपर्ने राजपा नेपालको माग रहेको थियो । तर, काँग्रेसले त्यो कुरा स्वीकार गरेको छैन ।

राजपा नेपालले सर्लाहीको चार नम्बर क्षेत्र वा धनुषाको तीन नम्बर क्षेत्रमध्ये एक आफूहरुलाई दिन आग्रह गरेका थिए । तर, काँग्रेसले  दुई मध्ये कुनै पनि खाली गर्न तयार नदेखिएपछि सहमति हुन नसकेको बैठकमा सहभागी एक नेताले रातोपाटीलाई बताए ।

सर्लाही चारबाट डा. अमेरशकुमार सिंह उम्मेदवारी दिने तय भइसकेको छ । सर्लाही चारबाट काँग्रेसले संहलाई टिकट नदिएको खण्डमा त्यहाँबाट महतोले चुनाव लड्ने सम्भावना थियो । तर सिंहले नमानेपछि राजेन्द्र महतोले धनुषा तीनका लागि आफ्नो उम्मेदवारी तय गरेका हुन् ।

स्रोतका अनुसार आज बालुवाटारमा बसेको बैठकमा मधेशी दलले धनुषाको क्षेत्र नम्बर तीन माग्दा विमलेन्द्र निधिले राजेन्द्र महतोलाई ‘धनुषा क्षेत्र नम्बर तीनबाट प्रदेशसभामा लड्नुस् काँग्रेसले सघाउँछ’ भनेपछि महतो भड्किएका थिए ।

नेपाली काँग्रेसका नेता प्रदिप गिरीको आग्रहमा आजको बैठक बसेको थियो । बैठकममा गिरीले राजेन्द्र महतोलाई धनुषाको चारबाट चुनाव लड्न पनि आग्रह गरेका थिए ।

धनुषाको चारबाट चुनाव लडेपछि काँग्रेसले त्यहाँ उम्मेदवारी नदिने प्रस्ताव गिरीले अघि सारेपछि राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले ‘तपाईंहरुले जे–जे भन्नुहुन्छ त्यही मान्नुपर्छ भने के छ ? न तपाईंहरु सर्लाही छाड्न चाहनुहुन्छ न धनुषा छाड्न चाहनुहुन्छ । हामीलाई मात्र छाड्न भन्नुहुन्छ । तपाईहरुले गर्न चाहीँ खोज्नुभएको के हो ?’ भन्दै रोष प्रकट गरेका थिए ।

यति भन्दै मधेसी नेताहरु आजको बैठकबाट बाहिरिएको स्रोतले बतायो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!