
धनकुटा । ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबलकार आयोजना बन्द गर्न मुक्कुमलुङ संरक्षर्णाथ समितिले सरकारसमक्ष विभिन्न ९ बुँदे माग राखेको छ । किरात याक्थुङ चुम्लुङ जिल्ला कार्य समिति, मुक्कुमलुङ लाङसेः प चम्भो र अन्तरदलिय संयुक्त संघर्ष समिति धनकुटाले पत्रकार सम्मलेन गर्दै सरकार समक्ष विभिन्न माग राखेको हो ।
संघर्ष समितिले मुक्कुमलुङमा पाथिभरा देवी दर्शन केबलकार निर्माण आयोजना तुरुन्त खारेज गर्नुपर्ने, ऐन, कानुन मिच्ने र फर्जी कागजात बनाउने उपर छानविन गरी कारबाही गर्नुपर्ने माग अघि सारेको छ ।
यस्तै गोली चलाउन र बारम्बार दमन गर्न आदेश दिनेमाथि कारबाही हुनुपर्ने, झुठा मुद्दाहरू खारेज गर्नुपर्ने, घाइतेको उपचार खर्च र जिविकोपार्जनको ग्यारेन्टी गर्नुपर्ने तथा पाथिभरा क्षेत्र विकास समिति गठन आदेश २०५३ खारेज गर्नुपर्ने माग राखेका छन् ।
यस्तै नेपाल सरकारद्वारा प्रकाशित राजपत्र २०७५ चैत १८ गतेको सीमा विस्तारको सम्बन्धमा विकास समितिको संशोधित गठन आदेश खारेज गर्नुपर्ने, पाथिभरा क्षेत्र विकास समितिको सट्टामा मुक्कुमलुङ क्षेत्र विकास समिति बनाइ रैथाने आदिवासीहरूको सहमति र नेतृत्वमा समिति गठन गर्नुपर्ने माग राखेका छन् ।
मुक्कुमलुङ क्षेत्रलाई सांस्कृतिक र मुन्धुमी मूल्य मान्यता अनुरूप संरक्षण गर्दै त्यस मोडलमा मुक्कुमलुङको विकास, संरक्षण र संवर्धन गरिनुपर्ने माग अघि सारेको किरात याक्थुङ चुम्लुङ जिल्ला कार्य समिति धनकुटा सचिव तथा मुक्कुमलुङ संरक्षण संघर्ष समितिका सदस्य शिव कुमार तिगेलाले बताए ।
उक्त माग पत्र जिल्ला प्रशासन कार्यालय धनकुटामार्फत प्रधानमन्त्रीको कार्यालय र गृहमन्त्रालयमा पठाइएको संघर्ष समितिले जनाएको छ । संघर्ष समितिले आफ्ना माग पुरा नगरे कडा रूपमा आन्दोलन गर्ने चेतावनी दिँदै धनकुटासहित अरुण वारीका ९ जिल्लामा आन्दोलन गर्ने तयारी भइरहेको समितिका सदस्य सन्तवीर लामाले जानकारी दिए ।

सन्तोष सुवेदी/संगालोखबर 



















