
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ आहालेमा गएराती ज्वाइले ससुरालीमा चार जनामाथि खुकुरी प्रहार गरेका छन् । दशैंका बेला ससुराली आएका ४३ वर्षीय नइन्द्रकुमार राईले सासु, ससुरा, श्रीमती र सालीमाथि खुकुरी प्रहार गरेका हुन् ।
खुकुरी प्रहारबाट ससुरा नरेन्द्र राई, सासु ६२ वर्षीया स्यामाउन राई, श्रीमती ४० वर्षीया अन्जना राई र साली २५ वर्षीया तेनिना राई घाइते भएका छन् ।
श्रीमान–श्रीमतीवीचको विवादका विषयमा छलफलका लागि गएका नइन्द्रले राती करिब १२ बजे उनीहरुमाथि कुकुरी प्रहार गरेको खोटाङका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिए । ‘श्रीमान–श्रीमती वीचको विवादको विषयमा छलफल गर्न भनेर ससुराली आएका बेला खुकुरी प्रहार गरेको रहेछ,’ प्रहरी प्रवक्ता बस्नेतले संगालोखबरसँग भने, ‘अहिले घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ, घटनाको विषयमा थप बुझ्दै छौ ।’
प्रहरीका अनुसार खुकुरी प्रहारबाट श्रीमती अन्जना र साली तेनिनाको अवस्था गम्भीर छ । घाइते तीन जनालाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ । एक जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

संगालोखबर 
























