संगालोखबर


काठमाडौं । नेपाली काँग्रेसको १५ औँ महाधिवेशन नजिकिँदै जाँदा नयाँ नेतृत्व चयनको रस्साकस्सी सुरु भएको छ । वडा अधिवेशनबाट सुरु भएको प्रक्रिया पालिका र क्षेत्र हुँदै महाधिवेशन प्रतिनिधि छनोटतर्फ अघि बढेसँगै सभापति र पदाधिकारीका सम्भावित उम्मेदवारबारे काँग्रेसभित्र बहस चुलिएको हो ।

असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनमा सभापतिपछि महामन्त्री पदमा विशेष चासो देखिएको छ । महामन्त्रीका लागि अहिले सबैभन्दा अगाडि काँग्रेस नेता डा. सुनीलकुमार शर्माको नाम चर्चामा छ ।

शर्मासँगै वर्तमान महामन्त्री प्रदीप पौडेल र गुरुराज घिमिरे, सहमहामन्त्री उदयशमशेर राणा तथा केन्द्रीय सदस्य मधु आचार्यको नाम पनि महामन्त्रीको आकांक्षीका रूपमा देखिएको छ ।

२०५४ सालमा काँग्रेसको सदस्य बनेर राजनीतिक यात्रा सुरु गरेका शर्मा १३ औँ महाधिवेशनदेखि महासमिति सदस्यका रूपमा पार्टीमा सक्रिय छन् । स्पष्ट रूपमा आफ्ना धारणा राख्ने, सार्वजनिक सरोकारका विषयमा बोल्ने र कार्यकर्तासँग प्रत्यक्ष सम्पर्कमा रहने नेताका रूपमा उनले आफ्नो परिचय बनाएका छन् ।

स्वास्थ्य र शिक्षाको क्षेत्रमा उनको सक्रियता बढी चर्चित भए पनि शर्माको सार्वजनिक भूमिकाको दायरा त्यतिमै सीमित छैन । सामाजिक सेवा, विपन्न तथा असहाय नागरिकका पक्षमा काम उनका अन्य पक्ष हुन् ।

पछिल्लो समय गिरिजाप्रसाद कोइराला फाउन्डेसनको सभापतिको जिम्मेवारी पाएपछि उनी सामाजिक सक्रियता थप फराकिलो बनाउन लागिपरेका छन् । सभापतिमा गगनकुमार थापाको प्रतिस्पर्धीका रूपमा अहिलेसम्म कोही खुलेर मैदानमा आएका छैनन् ।

यस्तो अवस्थामा थापाको नेतृत्वलाई साथ दिँदै पार्टी संगठनलाई थप प्रभावकारी बनाउन सक्ने महामन्त्रीका रूपमा शर्माको नाम पार्टी पङ्क्तिमा चर्चामा आएको हो । थापासँगको राजनीतिक सहकार्य, कार्यकर्तामाझको पहुँच र सामाजिक क्षेत्रमा गरेको सक्रियता शर्माको दाबीका मुख्य आधारका रूपमा हेरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!