
विराटनगर । हाल देशभर मनसुनी साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल उत्तर अन्डमन सागर र आसपासको क्षेत्रमा न्यून चापीय क्षेत्र बनेको देखिन्छ साथै उक्त प्रणाली थप बलियो बन्दै पश्चिम-उत्तरपश्चिम दिशा तिर सर्ने देखिन्छ ।
आज राति देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल तथा तराई भू-भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका हिमाली भू-भागका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एक/दुई स्थानमा मेघगर्जनसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।
भोलि दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । भोलि राति पनि यी स्थानका केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ ।



















