
काठमाडौं, १२ कात्तिक । आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गत असोज २९ गते राजनीतिक दलहरुले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फका उम्मेदवारको बन्द सूचीको अन्तिम संशोधन गर्ने म्याद आज सकिने भएकाले दलहरु सूची परिवर्तनका लागि आन्तरिक छलफलमा जुटेका छन् ।
नेपाली कांग्रेस, एमाले, माओवादी लगायतका दलहरु सुचि संशोधनका लागि गृहकार्यमा जुटेका हुन् । ती दलहरुले पार्टीभित्र आन्तरिक छलफल गरेर अन्तिम सूची आयोगमा आज बुझाउने बताएका छन् ।
निर्वाचन आयोगले आइतबार १० बजेदेखि साँझ ५ बजेसम्म सूची संशोधन गर्न सकिने गरि यसअघि नै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो ।
दलहरुले गत २९ असोजमा समानुपातिकको बन्दसूची निर्वाचन आयोगमा पेश गरेपनि संशोधन गर्न चाहेमा आजसम्मको म्याद दिएको हो । यस्तै उम्मेदवारको बन्दसूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिनचाहनेलाई सोमबारको समय दिएको छ ।
उम्मेदवारको दावी विरोध, उजुरीमा जाँचबुझ लगायतका चरण पूरा गरेर मंसिर ३ गते अन्तिम नामावली सार्वजनिक गर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।-रातोपाटी



















