
काठमाडौं । काठमाडौंको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालले अत्याधुनिक मुटु उपचार सेवातर्फ सफलता हासिल गरेको छ । अस्पतालले आफ्नो पहिलो मिनिमली इन्भेसिभ कार्डियाक सर्जरी सफलतापूर्वक सम्पन्न गर्दै सफलता हासिल गरेको हो ।
अस्पतालले झापाका २२ वर्षीय ब्रह्मदेव ज्वाला सिंहको मुटुमा रहेको प्वाल (एट्रियल सेप्टल डिफेक्ट) शल्यक्रियामार्फत सफलतापूर्वक बन्द गरेको छ ।
बिरामीको कमजोर आर्थिक अवस्थालाई ध्यानमा राख्दै अस्पतालले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शल्यक्रिया, चिकित्सक शुल्क, बेड, औषधि, आईसीयू, प्रयोगशाला परीक्षण लगायत सम्पूर्ण उपचार निःशुल्क उपलब्ध गराएको हो ।
उक्त जटिल शल्यक्रिया वरिष्ठ कार्डियाक सर्जन प्रा. डा. अनिल भट्टराईको नेतृत्वमा सम्पन्न भएको छ । डा. भट्टराईका अनुसार मिनिमली इन्भेसिभ प्रविधिबाट शल्यक्रिया गर्दा बिरामीलाई कम पीडा हुने, रक्तस्राव र संक्रमणको जोखिम न्यून रहने तथा बिरामी चाँडै निको हुने गर्दछन् ।
आर्थिक अभावका कारण कोही पनि नागरिक जीवनरक्षक उपचारबाट वञ्चित हुन नपरोस् भन्ने सोचका साथ विपन्न बिरामीका लागि गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन प्रतिबद्ध रहेको फ्रन्टलाइन अस्पतालले जनाएको छ ।

संगालोखबर 













