
विराटनगर । विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ को बजेट पुस्तिका सार्वजनिक गर्दै स्वीकृत योजना तथा कार्यक्रम कार्यान्वयनको प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ ।
बजेट पुस्तिका सार्वजनिक भएसँगै महानगरले विकास आयोजना, वित्तीय व्यवस्थापन र सेवा प्रवाहलाई निर्धारित कार्यतालिकानुसार अघि बढाउने तयारी पूरा गरेको छ ।
महानगर परिसरमा आयोजित कार्यक्रममा कार्यवाहक नगर प्रमुख मधुबाबु तिवारी र वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपानेले संयुक्त रूपमा बजेट पुस्तिका सार्वजनिक गरेका थिए ।
कार्यक्रममा कार्यवाहक नगर प्रमुख तिवारीले समयमै बजेट पुस्तिका प्रकाशन हुनुलाई सुशासन, पारदर्शिता र उत्तरदायी वित्तीय व्यवस्थापनको महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरे ।
उनका अनुसार समयमै प्रकाशित बजेट पुस्तिकाले स्वीकृत योजना तथा कार्यक्रम कार्यान्वयनलाई थप व्यवस्थित, प्रभावकारी र नतिजामुखी बनाउन सहयोग पुग्नेछ । बजेट तयारीदेखि प्रकाशनसम्म संलग्न कर्मचारी तथा सरोकारवालाको योगदान पनि उनले स्मरण गरे ।
प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले बजेट पुस्तिका सार्वजनिक भएसँगै चालु आर्थिक वर्षको बजेट कार्यान्वयन औपचारिक रूपमा सुरु भएको जानकारी दिए । नगर प्रमुखबाट खर्च गर्ने अख्तियारी प्राप्त भइसकेको र महानगरका सबै १९ वटै वडाका सचिवलाई आवश्यक निर्देशन दिइसकिएको उनले बताए ।
उनका अनुसार यस वर्षको बजेट पुस्तिका केवल आयव्यय र कार्यक्रमको सूचीमा सीमित छैन । महानगरको संस्थागत परिचय, विकास यात्रा, प्राथमिकता, नीति तथा दीर्घकालीन विकास दृष्टिलाई समेत समेटेर पुस्तिका तयार गरिएको छ ।
यसले नागरिक, जनप्रतिनिधि तथा अन्य सरोकारवालालाई महानगरको समग्र कार्यदिशाबारे स्पष्ट जानकारी उपलब्ध गराउने अपेक्षा गरिएको छ ।
वडा नम्बर ११ का अध्यक्ष नेउपानेले अघिल्ला वर्षको तुलनामा यस पटक बजेट पुस्तिका समयमै सार्वजनिक हुनु सकारात्मक उपलब्धि भएको बताए । उनका अनुसार यसले विकास निर्माणका योजना समयमै अघि बढाउन र बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन सहयोग गर्नेछ ।

संगालोखबर 













