संगालोखबर


विराटनगर । कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा खेल प्रशिक्षकहरूको संख्यामा ठूलो भिन्नता देखिएको छ । प्रदेशका १४ वटै जिल्लामा खेल र खेलाडीको संख्या तथा अवस्था हेरेर आवश्यकताको आधारमा प्रशिक्षक रहनु पर्ने हो ।

कोशी प्रदेशमा प्रदेश खेलकुद विकास बोर्ड मातहतका जिल्ला खेलकुद समितिको निर्देशनमा खटिने प्रशिक्षकको संख्या कुनै जिल्लामा धेरै छ भने कतै शून्य छ ।

कराँते खेलमा झापामा मात्रै १२ जना प्रशिक्षक रहँदा ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, भोजपुर, ओखलढुंगा, सोलुखुम्बु र उदयपुरमा प्रशिक्षकको संख्या शून्य छ । त्यस्तै, पाँचथरमा १, इलाममा ४, मोरङमा ३, सुनसरीमा ४, खोटाङमा २ र धनकुटामा १ जना कराते प्रशिक्षक कार्यरत छन् ।

एउटा खेलमा एकै जिल्लामा दर्जन हाराहारी प्रशिक्षक हुनु र प्रदेशका अन्य जिल्लामा प्रशिक्षक नै नहुनुलाई खेलकर्मीहरू स्वाभाविक मान्न नसकिने बताउँछन् । जिल्लामा प्रशिक्षक नहुँदा कतै स्वयम् सेवक प्रशिक्षकहरूले खेलाडीलाई प्रशिक्षण दिइरहेका छन् ।

प्रतियोगिताहरूमा छनोट गर्ने लगायत विषयमा सरकारी प्रशिक्षकहरूको भूमिका रहने कारणले खेलकर्मीहरू बोल्न नसकेको भोजपुरका एक खेलकर्मी भने । प्रदेश खेलकुद विकास बोर्ड, कोशीका सदस्य सचिव विप्लव घोषका अनुसार बोर्डले छिट्टै प्रदेशका सबै जिल्लामा प्रशिक्षक व्यवस्थापन गर्ने तयारी गरिरहेको छ ।

उनले बोर्डले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता, कोशी प्रदेशमा हुने राष्ट्रपति रनिङ शिल्ड लगायत प्रतियोगिताका लागि सरोकारवालासँग छलफल र अन्तरक्रिया गर्दा प्रशिक्षकको संख्या लगायतको विषयमा समेत कुरा आएको बताए । सो विषयमा बोर्डले छिट्टै निर्णय लिने उनको भनाइ छ ।

कोशी प्रदेशमा कराँते प्रशिक्षकको संख्या धेरै हुँदा अन्य धेरै खेलको सरकारी प्रशिक्षकहरूको संख्या भने अत्यन्तै न्यून छ । खेल पूर्वाधारको अभाव देखि लिएर स्रोतको अभाव भन्दै लामो समयदेखि प्रशिक्षकको पदपूर्ति हुन सकेको छैन । प्रतियोगिताको बेलामा भने बोर्डले अस्थायी प्रशिक्षक नियुक्ति गरेर काम गर्दै आइरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!