
विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका-३ स्थित कप्तानगन्जमा भएको घटनापछि मोरङमा पनि सर्वपक्षीय बैठक बोलाइएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय बैठक बोलाएको हो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार आज दिउँसो ३ बजे विराटनगरस्थित मोरङ उद्योग व्यापार संघको सभाहलमा बैठक आयोजना गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाका अनुसार सुनसरी घटनापछि जिल्लामा सामाजिक सद्भाव र शान्ति-सुरक्षा कायम राख्ने उद्देश्यले सबै सरोकारवालालाई एकै ठाउँमा ल्याएर छलफल गर्न लागिएको हो ।
बैठकमा सामाजिक तथा धार्मिक सहिष्णुता कायम राख्न सबै पक्षले निर्वाह गर्नुपर्ने भूमिका, मोरङमा सद्भाव र्याली आयोजना गर्ने विषय तथा जिल्लाको समसामयिक सुरक्षा अवस्थाबारे छलफल हुने जनाइएको छ ।
प्रशासनले बैठकमा मोरङका सबै स्थानीय तहका प्रमुख तथा अध्यक्ष, जिल्ला समन्वय समितिका प्रमुख, जिल्लास्थित राजनीतिक दलका प्रमुख, जिल्ला सुरक्षा समितिका पदाधिकारी, हिन्दु तथा मुस्लिम समुदायसँग सम्बन्धित विभिन्न संघ-संस्थाका प्रतिनिधिलाई बैठकमा आमन्त्रण गरेको छ ।


संगालोखबर 













