संगालोखबर


विराटनगर । विराटनगर विमानस्थल हुँदै काठमाडौं पठाउन लागिएको जुत्ताको सोलभित्र लागूऔषध ब्राउन सुगर फेला परेको छ । विमानस्थलमा गरिएको सुरक्षा जाँचका क्रममा लागूऔषध फेला परेपछि एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका-९ महेन्द्र चोकस्थित एक्सपो एक्सप्रेस कुरियरमार्फत बुधबार साँझ ७ बजेतिर काठमाडौंको तारकेश्वर नगरपालिका मनमैजु निवासी अशोक विश्वकर्माका नाममा सेतो रङको स्पोर्ट्स सुज पठाउन खोजिएको थियो ।

उक्त पार्सल विमानस्थलको एक्स-रे मेसिनबाट जाँच गर्ने क्रममा जुत्ताभित्र शंकास्पद वस्तु देखिएपछि पार्सल खोलेर जाँच गर्दा जुत्ताको सोलभित्र कालो प्लास्टिकमा पोको पारेर लुकाइएको अवस्था ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार १८ दशमलव ४८ ग्राम ब्राउन सुगर बरामद भएको हो । कुरियरमार्फत विराटनगर विमानस्थल हुँदै जहाजमार्फत ब्राउन सुगर काठमाडौं पठाउन खोज्ने विराटनगर-५ का २४ वर्षीय सुशान्त खड्कालाई पक्राउ गरिएको उनले जानकारी दिए ।

उक्त पार्सल विराटनगरका राघव झाले काठमाडौं पठाउनलाई खड्काको जिम्मा लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले झाको खोजी गरिरहेको छ । प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!