संगालोखबर


विराटनगर । सुनसरीको देवानगन्ज-३ कप्तानगञ्जमा भएको घटनापछि भारतसँग जोडिएका सीमा नाकामा सुरक्षा निगरानी कडा पारिएको छ । उक्त घटनापछि सीमा नाकाबाट नेपाल प्रवेश गर्ने भारतीय नागरिकका लागि परिचयपत्र अनिवार्य गरिएको हो ।

विराटनगरस्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आज बसेको सर्वपक्षीय सुरक्षा बैठकमा सीमा क्षेत्रको सुरक्षा अवस्थाबारे समीक्षा गर्दै सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखिएको जानकारी गराइएको छ ।

Advertisement

कोशी प्रदेश प्रहरी प्रमुख डीआइजी शेखर खनालले घटनापछि सीमा क्षेत्रबाट हुन सक्ने बाह्य घुसपैठ, हातहतियार र लागूऔषध ओसारपसारको जोखिमलाई ध्यानमा राख्दै अतिरिक्त प्रहरी परिचालन गरिएको बताए । उनका अनुसार मधेश प्रदेशबाट समेत थप प्रहरी सुनसरी पठाइएको छ भने कोशीका अन्य जिल्लाबाट पनि सुरक्षाकर्मी परिचालन गरिएको छ ।

घटनालाई अवसर बनाएर बाह्य तत्त्वको घुसपैठ, हातहतियार तथा लागूऔषधको अवैध कारोबार बढ्न सक्ने जोखिम रहेकाले भारतसँग जोडिएका सीमा नाकामा अतिरिक्त सुरक्षा सतर्कता अपनाइएको सुरक्षा निकायले जनाएको छ । कोशीका पहाडी लगायत अन्यत्र जिल्लाबाट पनि सुरक्षाकर्मी झिकाएर सुनसरी केन्द्रित गरिएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले धार्मिक संगठनको आवरणमा केही समूह नेपाल प्रवेश गर्न सक्ने सूचना प्राप्त भएकाले सीमा नाकामा विशेष निगरानी थालिएको बताए । उनले वैध परिचयपत्र भएका व्यक्तिलाई मात्र नेपाल प्रवेश गर्न दिइने र शङ्कास्पद गतिविधिमाथि कडा निगरानी राखिएको जानकारी दिए ।

आइतबार राति देवानगन्ज-३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । घटनापछि सुनसरीका विभिन्न स्थानमा प्रदर्शन, आगजनी, तोडफोड र तनावका घटना भएपछि सुरक्षा व्यवस्था थप सुदृढ बनाइएको हो ।

बैठकमा सहभागी सरोकारवालाले सामाजिक सद्भाव कायम राख्न, अफवाहमा विश्वास नगर्न र कानुन हातमा नलिन सबै पक्षलाई आग्रह गरेका छन् । सर्वपक्षीय बैठकले शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सबै राजनीतिक दल, स्थानीय समुदाय, धार्मिक अगुवा र नागरिक समाजलाई संयमता अपनाउन आग्रह गर्दै अफवाह र उत्तेजनात्मक गतिविधिबाट टाढा रहन अपिल गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!