
विराटनगर । मोरङको सुनवर्षी नगरपालिकाकी एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई आइतबार नियन्त्रणमा लिएको हो ।
मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार साउन ३ गते बिहान अन्दाजी ९ बजे रंगेली–३ आमतोलाका १८ वर्षीय सिटी सफारी चालक मोहम्मद अरमानले ती बालिकालाई रंगेली-७ स्थित युमी क्याफेमा पुर्याएका थिए ।
प्रहरीका अनुसार विभिन्न प्रलोभनमा पारी अरमानले जबर्जस्ती करणी गरेपछि सोही क्याफेका सञ्चालक सुनवर्षी-९ का २१ वर्षीय सुमन कुमार साहले समेत बालिकामाथि जबर्जस्ती करणी गरेका थिए ।
यस्तै साउन ४ गते राति ९ बजे पीडित बालिकालाई रंगेली-७ दर्बी टोलका २० वर्षीय करण मण्डलले संसारी मन्दिर छेउमा रहेको क्याफेमा लगेका थिए । उक्त क्याफेमा लगेर करण मण्डल, रंगेली-७ का १८ वर्षीय प्रियान्सु साह र रंगेली-६ का १८ वर्षीय रितिक यादव सामूहिक जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
पीडितका तर्फबाट परेको उजुरीका आधारमा उनीहरूलाई आइतबार पक्राउ गरिएको डीएसपी मिश्रले जानकारी दिए । उनीहरूलाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।

संगालोखबर 

















