
विराटनगर । आपराधिक पृष्ठभूमिका अभिषेक गिरीसँग निकट सम्बन्ध रहेको देखिएपछि विराटनगरका मुकेश कार्की पक्राउ परेका छन् । विराटनगर महानगरपालिका-७ का ४६ वर्षीय कार्कीलाई आज बिहान करिब ७ः३० बजे प्रहरीले घरबाटै पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ । प्रहरीका अनुसार उनी सुधार केन्द्र सञ्चालक हुन् । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार गिरीसँग कार्कीको लामो समयदेखिको सम्पर्क र सम्बन्ध देखिएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।
गिरीको आर्थिक हिसाब-किताब राख्ने, आर्थिक गतिविधि व्यवस्थापन गर्ने तथा आवश्यक समन्वय मिलाउने काममा कार्कीको भूमिका रहेको हुन सक्ने प्रहरीको आशंका छ । गिरीको समूहसँग जोडिएर असुली, मिटरब्याज तथा अन्य आपराधिक गतिविधिमा कार्कीको संलग्नता रहे-नरहेको विषयमा समेत प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
डीएसपी मिश्रका अनुसार कार्की लामो समयदेखि प्रहरीको निगरानीमा थिए । उनलाई पक्राउ गर्न यसअघि पनि प्रहरी टोली घरमा पुगेको थियो । तर, त्यसबेला उनी फेला नपरेपछि पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ ।
प्रहरीले अभिषेक गिरीसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका अन्य व्यक्तिमाथि समेत अनुसन्धान विस्तार गर्ने तयारी गरेको जनाएको छ ।
मोरङ कारागारका कैदीबन्दीको रासन भत्ता र श्रम पारिश्रमिक असुली गरी आर्थिक शोषण गरेको आरोपमा अभिषेक गिरीलाई असार १३ गते विराटनगर-८ स्थित आफ्नै निवासबाट पक्राउ गरिएको थियो ।
प्रहरी अनुसन्धानका क्रममा असार १२ गते कैदीबन्दीलाई वितरण गरिएको करिब १३ लाख ६० हजार रुपैयाँ निकट व्यक्तिमार्फत पुनः संकलन गरी गिरीले लिएको खुलेको दाबी गरिएको थियो । त्यसपछि उनीविरुद्ध आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको थियो ।
हाल गिरी सीआईबीको नियन्त्रणमा छन् । उनीमाथि ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ । गिरी यसअघि अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दामा दोषी ठहर भई नौ वर्ष जेल सजाय काटेका व्यक्ति हुन् । उनी २०७९ चैत ५ गते जेलमुक्त भएका थिए ।

संगालोखबर 

















