
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका-९ मा हत्या भएको अवस्थामा नाबालिकाको शव फेला परेको छ । डाइनियास्थित मुस्लिम टोलका जफारुल मियाँकी ४ वर्षीया छोरी कायानत खातुनको हत्या भएको हो ।
हत्या गरेर फालेको अवस्थामा घरदेखि करिब २ सय मिटर पूर्वमा रहेको घन्सीबारीमा शुक्रबार साँझ ७ः३० बजेतिर बालिकाको शव भेटिएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए ।
शुक्रबार अपरान्ह ४ बजेदेखि हराएकी नाबालिकालाई खोजी गर्ने क्रममा हत्या गरेर फालेको अवस्थामा घन्सीबारीमा शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार बालिकाको निधार र कन्चटमा गहिरो चोट छ ।
उनका अनुसार शव र घटनास्थलको प्रकृति हेर्दा अभिभावकसँगको कुनै पुरानो रिसइबीका कारण नाबालिकाको हत्या गरेर शव घन्सीबारीमा फालिएको जस्तो देखिन्छ ।
आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शवलाई राति ११ः२० बजेतिर पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ । प्रहरीले हत्यामा संलग्नको खोजी गरिरहेको छ ।

संगालोखबर 

















