
विराटनगर । भारतबाट भन्सार छलेर ल्याउँदै गरेको हरियो तरकारी र कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरीले आज मोरङका छुट्टाछुट्टै स्थानबाट १४ लाख बढीको अवैध हरियो तरकारी र कपडा बरामद गरेको हो ।
सशस्त्रका अनुसार सिटी सफारीबाट हरियो तरकारी तथा ३ वटा मोटरसाइकलबाट कपडा गरी जम्मा १४ लाख १२ हजार ३०० मूल्य बराबरको सामान बरामद भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म रानीबाट खटिएको टोलीले भारतबाट अवैधरूपमा भन्सार छली गरेर ३ वटा मोटरसाइकलमा ल्याउँदै गरेको १२ लाख २७ हजार ३०० मुल्य बराबरको कपडा नियन्त्रणमा लिएको हो ।
यस्तै बीओपी दरैयाबाट खटिएको मोबाइल गस्ती टोलीले सिटी सफारीमा ल्याउँदै गरेको १ लाख ८५ हजार मूल्य बराबरको हरियो तरकारी बरामद गरेको हो । बरामद गरिएको सामान र सवारी-साधन आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

संगालोखबर 

















