कालीकोट, १० कात्तिक । पर्यटनको प्रचुर संभावना बोकेको अछामको रामारोशन गाउँपालिकामा पर्ने रामारोशन ताल संरक्षण नहुँदा सुक्न थालेको छ।  कालीकोट र अछामको सिमानामा रहेका १२ वटा तालमध्ये संरक्षणको अभावमा चारवटा ताल सुकिसकेका छन्।

उक्त क्षेत्रमा अब आठवटा ताल मात्र रहेका छन्। तर उचित संरक्षण नहुँदा यी तालहरू पनि सुक्न थालेका हुन्। उक्त ताल समुद्री सतहबाट दुई हजार ५० मिटरदेखि तीन हजार ७९२ मिटर उचाइमा रहेको छ।

अछामको प्रमुख पर्यटकीय क्षेत्र मानिने रामारोशनमा रहेका तालहरू आवश्यक संरक्षण, संवर्द्धन र उचित प्रचार प्रसारको अभावमा ओझेलमा परेको रामारोशन गाउँपालिका अध्यक्ष झंकर साउदले बताए।

‘साना ठूला गरी १२ वटा ताल र १८ वटा पाटन खण्ड रहेका छन्’, उनले भने, ‘१२ बण्ड, १८ खण्डका नामले पनि चिनिन्छ। केही अहिले सुकेका छन्।’  रामारोशन क्षेत्रमा रहेका प्रमुख तालहरूमा जिंगल्ले, बाटुल्ला, लामिदह, लिस्सेडाली, ताउले, तल्लो धउने, माथिल्ला धउने, गाग्रे, डउठेखाल, दल्याना, रामे र गेराहा हुन्। त्यहाँ भएका १२ तालमध्ये तल्लो धउने, माथिल्लो धउने र लिस्सेडाली सुक्दै गइरहेको उनले बताए।

पर्यटन प्रवर्द्धन गर्न गुरुयोजना बनाइने
रामारोसन तालको संरक्षण तथा पर्यटन प्रवर्द्धनका लागि कालीकोटका सान्नी त्रिवेणी र नरहरिनाथ गाउँपालिका र अछामको रामारोशन गाउँपालिकाले एकीकृत रूपमा गुरुयोजना बनाउन लागेका छन्।

कालीकोटका नरहरिनाथ र सान्नी त्रिवेणी गाउँपालिकाको सिमानामा पर्ने रामारोशन तालको संरक्षण तथा पर्यटन प्रवर्द्धन गर्न गुरुयोजना बनाउन लागिएको सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले बताए। ‘रामारोशन क्षेत्रको पर्यटन विकासले धेरै आर्थिक लाभ लिन सकिन्छ’, शाहीले भने, ‘त्यसका लागि हामी तीन गाउँपालिकाका मिलेर गुरुयोजना बनाउन लागेका हौँ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!