
विराटनगर । विराटनगरमा एक युवकले आत्मदाह प्रयास गरेका छन् । सप्तरीको तिलाडी कोइलाडी गाउँपालिका-१ घर भइ विराटनगर महानगरपालिका-१३ मा डेरा बस्दै आएका ३५ वर्षीय सञ्जीव झाले आज अपरान्ह आत्मदाह प्रयास गरेका हुन् ।
आत्मदाहको प्रयास गरेका युवकलाई प्रहरीले सकुशल उद्धार गरेको छ । प्रहरीका अनुसार उनी विराटनगर-१३ स्थित नरेश खरेलको घरमा डेरा बस्दै आएको खुलेको छ ।
पत्नीसँगको झगडापछि शरीरमा पेट्रोल छर्किएर झाले आत्मदाहको प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरीका सूचना अधिकारी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।
उनका अनुसार झाको गोजीमा आफैंलाई आगो लगाउन ठिक्क पारेको सलाईसमेत फेला परेको छ । झाले पत्नीसँगको झगडापछि पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेको जानकारी प्रहरीले आज अपरान्ह ४ः३० बजेतिर प्राप्त गरेको थियो ।
घटनाको जानकारी पाउनसाथ खटिएको प्रहरी टोलीले उनलाई सकुशल उद्धार गरेको हो । परिवार विराटनगरमा बसे पनि झा भने भारतमा बसेर काम गर्ने गरेको पाइएको छ ।
झा ४ दिनअघि मात्रै विराटनगर फर्किएको खुलेको प्रहरीले जनाएको छ । उनका पत्नी र दुई सन्तान छन् । घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

संगालोखबर 



















