
विराटनगर । मोरङको रंगेली नगरपालिका-७ स्थित हुलाकी सडकबाट लागूऔषध ब्राउन सुगरसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई आज पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको अररिया जिल्ला बौकाहा मझारका २८ वर्षीय मोहम्मद मुना र २५ वर्षीय मोहम्मद मुकुल छन् । उनीहरूको साथबाट १०१ ग्राम लागूऔषध ब्राउन सुगर बरामद गरिएको ब्युरोका सह-प्रवक्ता प्रहरी नायब उपरीक्षक जीवन निरौलाले जानकारी दिए ।
उनीहरूको साथबाट बीआर ३८ एएच ७१९३ र बीआर ३८ एक्यू ८२४३ नम्बरको मोटरसाइकल तथा दुई थान मोबाइल समेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ । उनीहरूविरुद्ध आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

संगालोखबर 



















