
विराटनगर । कोशी प्रदेशमा करिब ७४ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विकास निर्देशनालय कोशी प्रदेशको तथ्याङ्क अनुसार साउन ४ गतेसम्म ७३.९४ प्रतिशत धान रोपाइँ भएको हो ।
गतवर्ष सोही अवधिमा ६१.७९ प्रतिशत धान रोपाइँ भएको थियो । कोशी प्रदेशमा धान खेतीयोग्य कुल २ लाख ७६ हजार ३८६ हेक्टर जमिनमध्ये हालसम्म २ लाख ४ हजार ३५० हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भइसकेको हो ।
कोशीको तराई क्षेत्रमा सबैभन्दा बढी ७५.७१ प्रतिशत रोपाइँ भएको निर्देशनालयले जनाएको छ । यस्तै मध्य पहाडी भेगमा ७२.०१ र उच्च पहाडी जिल्लाहरूमा ६०.०७ प्रतिशत रोपाइँ भएको छ ।
जिल्लागतरूपमा हेर्दा सबैभन्दा बढी सोलुखुम्बुमा ८४ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यस्तै खोटाङमा ८३, सुनसरीमा ८२, भोजपुरमा ८०, झापामा ७७ र ओखलढुङ्गामा ७६.१० प्रतिशत रोपाइँ भएको छ ।
यस्तै पाँचथर र इलाममा ७५/७५, मोरङमा ७०, उदयपुरमा ६७, ताप्लेजुङमा ६२.५०, तेह्रथुममा ६१.१६, संखुवासभामा ५५ तथा धनकुटामा सबैभन्दा कम ४५ प्रतिशत रोपाइँ भएको छ ।
पछिल्लो समय वर्षा नियमित भइरहेकाले आकाशे पानीको भरमा रहेका किसानलाई ठूलो राहत मिलेको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष समयमै मनसुन सक्रिय भएकाले रोपाइँको दर पनि बढेको हो ।
तर, किसानहरूले प्रकृतिको साथ पाए पनि सरकारको साथ पाउन सकेका छैनन् । रोपाइँको चटारोबीच किसानहरूले रासायनिक मलको चरम अभाव झेल्नुपरेको छ ।
सरकारले हरेक वर्ष समयमै मल उपलब्ध गराउने आश्वासन दिए पनि व्यवहारमा किसानले सधैँ झैँ यसपटक पनि मुख्य सिजनमै सास्ती खेप्नुपरेको छ । समयमा मल हाल्न नपाउँदा धानको उत्पादन घट्ने चिन्ताले कृषकहरूलाई पिरोलेको छ ।

संगालोखबर 



















