
विराटनगर । मोरङको सुन्दरहरैंचा-१० स्थित सुकुना माध्यमिक विद्यालयमा छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा थप एक जना पक्राउ परेका छन् । प्रहरीले सोही विद्यालयका संगीत शिक्षक भीम नेपाललाई पक्राउ गरेको हो ।
योसँगै पक्राउ पर्नेको संख्या ४ पुगेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी डीएसपी मकेन्द्र मिश्रले फरार रहेका नेपाललाई पक्राउ गरिएको जानकारी दिए ।
यसअघि प्रहरीले विद्यालयका लेखा अधिकृत तथा शिक्षक अविरल मास्के, शिक्षक किशोरलाल गच्छेदार र बस चालक प्रदीप भट्टराईलाई पक्राउ गरेको थियो । उनीहरूलाई सामाजिक सञ्जालमा सार्वजनिक भएका च्याट र उजुरीका आधारमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
घटनामा अन्य व्यक्तिको संलग्नता भए-नभएको विषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले घटनाको वास्तविकता अनुसन्धानबाट खुल्ने भएकाले अपुष्ट सूचना वा आरोपहरूलाई तथ्यका रूपमा प्रचार नगर्न आग्रह गरेको छ ।

संगालोखबर 



















