
विराटनगर । कोशी प्रदेशमा सवारी दुर्घटनाको ग्राफ उकालो लागेको छ । आर्थिक वर्ष २०८२/८३ मा सवारी दुर्घटनाको संख्या १४ प्रतिशतले बढेको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाउँछ ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीको तथ्याङ्कअनुसार दुर्घटना बढेसँगै मानवीय क्षति पनि बढेको छ । प्रदेशका १४ जिल्लामा गत आर्थिक वर्ष ६ हजार ४१२ वटा सवारी दुर्घटना भएका छन् । यो अघिल्लो वर्षको तुलनामा ७८६ बढी हो । अघिल्लो वर्ष ५ हजार ६२६ दुर्घटना भएका थिए ।
आर्थिक वर्ष २०८२/८३ मा दुर्घटनामा मृत्यु हुनेको संख्या ४४० पुगेको छ । जुन अघिल्लो वर्षको तुलनामा ५ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा सवारी दुर्घटनामा ४१८ जनाले ज्यान गुमाएका थिए ।
दुर्घटनामा १० हजार ६८७ जना घाइते भएका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १६ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा ९ हजार २४१ जना घाइते भएका थिए ।
ट्राफिक कार्यालयको तथ्याङ्क अनुसार दुर्घटनाको संख्या सबैभन्दा धेरै उदयपुरमा ५७ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष ३ सय दुर्घटना भएकोमा यो वर्ष ४ सय ७० पुगेको छ ।
इलाममा ४८ प्रतिशत, खोटाङमा ३८ प्रतिशत, पाँचथरमा ३२ प्रतिशत र ताप्लेजुङमा २९ प्रतिशतले दुर्घटना बढेको छ । प्रदेशकै सबैभन्दा धेरै दुर्घटना हुने झापामा अघिल्लो वर्ष १ हजार २९६ दुर्घटनामा भएकामा यस वर्ष १ हजार ५१२ पुगेको छ ।
तथ्याङ्क अनुसार मोरङमा ९ प्रतिशत र सुनसरीमा ८ प्रतिशतले दुर्घटना बढेको देखिन्छ । धनकुटा, भोजपुर र तेह्रथुममा क्रमशः १६, ५७ र ९ प्रतिशतले दुर्घटना घटेको छ । ओखलढुंगामा पनि ११ प्रतिशतले दुर्घटना घटेको प्रदेश ट्राफिक प्रहरीको तथ्याङ्कले देखाउँछ ।

संगालोखबर 



















