संगालोखबर


विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका-१० स्थित सुकुना माध्यमिक विद्यालयमा कार्यरत दुई शिक्षक र एक जना सवारी चालक पक्राउ परेका छन् । सोही विद्यालयमा अध्ययनरत छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा उनीहरूलाई आज बिहान १० बजे प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुन्दरहरैंचा-१० का ४० वर्षीय प्रदीप भट्टराई, सुन्दरहरैंचा-२ का ३० वर्षीय किशोरलाल गच्छदार र सुन्दरहरैंचा-१२ का ३५ वर्षीय अविरल मास्के छन् । विद्यालयमा विद्यार्थीहरूले विरोध प्रदर्शनको तयारी गरेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।

Advertisement

मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार पक्राउ पर्नेमध्ये भट्टराई सवारी चालक तथा गच्छदार र मास्के शिक्षक हुन् । विद्यालयका केही छात्रालाई मोबाइलमार्फत म्यासेज पठाउने, परीक्षामा उत्तीर्ण गराइदिने आश्वासन दिने तथा अमर्यादित व्यवहार गरेको जानकारीमा आएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अनुसन्धानबाट अन्य व्यक्ति पनि संलग्न रहेको पुष्टि भए कानुनबमोजिम कारबाही गरिने डीएसपी मिश्रले जानकारी दिए । घटनालाई लिएर सामाजिक सञ्जालमा अनावश्यक तथा भ्रामक टिप्पणी नगर्न र अनुसन्धानमा सहयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।

यस घटनाप्रति सुन्दरहरैंचा नगरपालिकाले पनि गम्भीर ध्यानाकर्षण जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले सुकुना माध्यमिक विद्यालयलाई पत्राचार गर्दै आरोप लागेका शिक्षक तथा कर्मचारीलाई तत्काल निलम्बन गरी प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् । विद्यालयले पनि उनीहरूलाई निलम्बन गरिसकेको जानकारी गराएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!