
विराटनगर । कोशी प्रदेशमा नेकपा एमालेसँगको सत्ता साझेदारी अन्त्य गर्ने नेपाली काँग्रेसले निर्णय गरेको छ । विराटनगरमा आज बसेको काँग्रेस कोशी प्रदेश कार्यदलको बैठकले एमालेसँगको सत्ता साझेदारी अन्त्य गर्ने निर्णय गरेको हो ।
कोशीमा काँग्रेस र नेकपा एमालेको सत्ता गठबन्धन छ । काँग्रेस कोशी प्रदेश सभापति उद्धव थापाका अनुसार सत्ता गठबन्धनलाई अव निरन्तरता नदिने निर्णय भएको छ ।
सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय तत्काल भई नसकेको उनको भनाइ छ । उनले कार्यदलको बैठक चलिरहेकै बेला शीर्ष नेताहरूको टेलिफोन आएपछि मन्त्री फिर्ता बोलाउने विषयमा टुङ्गो नलागेको बताए ।
केन्द्रको निर्देशन प्राप्त भएपछि मात्रै सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने विषयमा निर्णय हुने काँग्रेस कोशी प्रदेशले जनाएको छ ।
एमालेसँगको गठबन्धन भत्किएसँगै कोशी प्रदेशमा काँग्रेसले आगामी राजनीतिक कदमका लागि तीन वटा मुख्य विकल्पहरू अगाडि सारेको छ । केन्द्रमा एमालेसँग पुनः सहकार्यको वातावरण बन्ने परिस्थिति सिर्जना भएमा त्यसैलाई निरन्तरता दिने पहिलो विकल्प काँग्रेसले अघि सारेको छ ।
यस्तै एमालेसँगको सहकार्य पूर्णरूपमा अन्त्य भएमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) तथा अन्य साना दलहरूसँग मिलेर नयाँ सरकार गठन गर्ने र तेस्रो विकल्पका रूपमा यी दुवै अवस्था नबनेमा सशक्त प्रतिपक्षको भूमिकामा बस्ने काँग्रेसले विकल्प अघि सारको छ ।
कोशी सरकारमा काँग्रेसका तर्फबाट एक राज्यमन्त्रीसहित पाँच जना मन्त्री सहभागी छन् । जसमा भौतिक पूर्वाधार मन्त्री सुनुवारसहित उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरी, स्वास्थ्य मन्त्री मानबहादुर लिम्बू, पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली र भौतिक पूर्वाधार राज्यमन्त्री शोभा चेम्जोङ छन् ।

संगालोखबर 



















