
विराटनगर । कोशी प्रदेशमा कुल धान खेतीयोग्य क्षेत्रफलमध्ये ५४.८६ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ । कृषि विकास निर्देशनालय कोशी प्रदेशका अनुसार प्रदेशभर धान खेती हुने कुल २ लाख ७६ हजार ३८६.७२ हेक्टर क्षेत्रफलमध्ये १ लाख ५१ हजार ६१९.३० हेक्टर क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको हो ।
जिल्लागत रूपमा सबैभन्दा बढी भोजपुरमा ७५ प्रतिशत धान रोपाइँ भएको छ भने धनकुटामा सबैभन्दा कम २८ प्रतिशत मात्रै रोपाइँ भएको छ । निर्देशनालयका अनुसार खोटाङमा ७१.३६, पाँचथरमा ६७, इलाममा ६६, झापामा ६१.८० र सोलुखुम्बुमा ५७.५६ प्रतिशत रोपाइँ भएको छ ।
यस्तै उदयपुरमा ५५, सुनसरीमा ५२, तेह्रथुममा ५१.५८, ताप्लेजुङमा ४९, ओखलढुंगामा ४७.४६, मोरङमा ४६ र संखुवासभामा ३६ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको हो ।
निर्देशनालयको तथ्याङ्क अनुसार मध्यपहाडमा ६१.०९ प्रतिशत रोपाइँ भइसकेको छ भने तराईमा ५३.६६ प्रतिशत र उच्च पहाडी क्षेत्रमा ४२.५३ प्रतिशत रोपाइँ भएको छ ।
पछिल्लो समय केही जिल्लामा पर्याप्त वर्षा भएपछि धान रोपाइँले गति लिन थालेको हो । तर, केही स्थानमा अझै पनि पानीको अभाव र प्रतिकूल मौसमका कारण रोपाइँ अपेक्षित गतिमा अघि बढ्न नसकेको निर्देशनालयले जनाएको छ । गतवर्ष यही समयमा ४१.३२ प्रतिशत मात्रै रोपाइँ भएको थियो ।

संगालोखबर 



















