
विराटनगर । विराटनगर-१८ भेडियारीमा गाँजासहित भारतीय नम्बरको मोटरसाइकल छाडेर पोखरीमा हाम फालेका किशोर मृत फेला परेका छन् । प्रहरीले पिछा गरेको थाहा पाएपछि पोखरीमा हाम फालेका १७ वर्षीय मञ्जितकुमार यादव दुई दिनपछि मृत भेटिएका हुन् ।
आज बिहान १०ः३० बजेतिर पोखरीको बीच भागमा तैरिरहेको अवस्थामा उनको शव भेटिएको मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठले जानकारी दिए । उनका अनुसार अहिले प्रहरी टोली घटनास्थलमा पुगेको छ । आवश्यक कानुनी प्रक्रिया पुरा गरेपश्चात् शव निकालेर पोष्टमार्टमका लागि पठाउने प्रहरीको तयारी छ ।
बुधबार बिहान ८ः५० बजेतिर पोखरीमा डुबेर बेपत्ता भएका उनको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर टोलीसमेत परिचालन गरिएको थियो । तर उनको अवस्था बारे केही पत्ता लाग्न सकेको थिएन ।
दुई जना सवार बीआर ५० एएल ३६८७ नम्बरको मोटरसाइकललाई रोक्न खोज्दा मोटरसाइकल छाडेर उनी फरार भएका थिए । भारतको सुपौल जिल्ला गनौरा पञ्चायत-५ का ४१ वर्षीय शिवधर यादवलाई भने प्रहरीले पक्राउ गरेको छ ।
मोटरसाइकलको पछाडि बसेका यादवले बोकेको झोला चेकजाँच गर्दा प्रहरीले ६ किलो १३० ग्राम गाँजा बरामद गरेको थियो । शिवधरमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

संगालोखबर 

















