
विराटनगर । विराटनगरको कोशी अस्पतालमा उपचारका क्रममा एक बन्दीको मृत्यु भएको छ । पाँचथरको हिलिहाङ गाउँपालिका-१ घर भएका ३१ वर्षीय सन्देश राईको आज मृत्यु भएको हो ।
कर्तव्य ज्यान मुद्दाका बन्दी राईलाई उपचारका लागि असार १८ गते कोशी अस्पतालमा भर्ना गरिएको थियो । राईलाई जिल्ला अदालत पाँचथरले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न २०८२ मंसिर ७ गते आदेश दिएको थियो ।
अदालतको आदेशसँगै उनलाई जिल्ला कारागार पाँचथरमा राखिएको थियो । बिरामी परेका उनलाई सुरुमा जिल्ला अस्पताल फिदिममा भर्ना गरिएको थियो । फिदिममा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि विराटनगर ल्याइएको थियो ।
उपचाररत राईको सुरक्षा व्यवस्था भने मोरङ कारागारले मिलाउँदै आएको थियो । उपचारमा संलग्न चिकित्सकले राईलाई मुटु, मिर्गौला र फोक्सोको पुरानै समस्या रहेको बताएका मोरङ कारागारका प्रशासक राजन घिमिरेले बताए ।
उनलाई पछिल्लो समय अचानक सास फेर्न गाह्रो हुने र शरीर सुन्निने समस्या देखिएको कारागारले जनाएको छ । राईविरुद्धको कर्तव्य ज्यान मुद्दा जिल्ला अदालत पाँचथरमा विचाराधीन छ ।

संगालोखबर 

















