संगालोखबर


विराटनगर । विराटनगरमा क्रियाशील पत्रकारहरूका लागि सञ्चालित ‘अर्थ र विकास पत्रकारिता’ विषयमा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । संगालोखबर मिडिया प्रा.लि. विराटनगरको आयोजना तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको सहयोगमा कार्यक्रम सम्पन्न गरिएको हो ।

असार २०, २१ र २२ गतेसम्म सञ्चालित कार्यक्रममा कोशी प्रदेशका विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरूको सहभागिता थियो । कार्यक्रममा आर्थिक तथा विकासका बहुआयामिक पक्षहरू, बजेट निर्माण प्रक्रिया, दिगो विकास र आर्थिक क्षेत्रका समाचार सङ्कलन तथा लेखनका प्राविधिक विषयमा विज्ञहरूले सहजीकरण गरेका थिए ।

Advertisement

कार्यक्रममा सहभागि पत्रकारहरू विराटनगरमा पहिलो पटक यस किसिमको कार्यक्रम सञ्चालन भएको भन्दै आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरे । पत्रकार सुभास भण्डारी तीन दिनको सिकाइ फलदायी भएको उल्लेख गरे । आफ्नो अनुभव सुनाउँदै उनले आर्थिक क्षेत्रको समाचार संकलनमा यो कार्यक्रमले थप सहयोग पुर्याएको उल्लेख गरे ।

यस्तै पत्रकार एन्जु सिवाकोटीले पनि यो कार्यक्रम आफ्नो लागि थप महत्वपूर्ण र फलदायी भएको उल्लेख गरिन् । उनले कार्यक्रममार्फत अर्थ र विकास पत्रकारिताका विविध पक्ष छर्लङ्ग भएको भन्दै यसले लेखनमा थप सहजता प्रदान गर्ने बताइन् । कार्यक्रमको सहजिकरण आर्थिक पत्रकार संघका पूर्वकेन्द्रिय अध्यक्ष मोदनाथ ढकाल र नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष यज्ञ शर्माले गरेका थिए ।

कार्यक्रमको उद्‌घाटन आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले ब्यानर पढेर गरेका थिए । कार्यक्रममा बोल्दै उनले पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि कोशी प्रदेश सरकार सकारात्मक रहेको बताए ।

उद्‌घाटन समारोहमा पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष भरत खड्का, महासंघ मोरङ अध्यक्ष सुशीला पाठक, प्रेस चौतारी कोशी प्रदेश अध्यक्ष सुमन पुरी, प्रेस युनियन मोरङका अध्यक्ष बेदराज पौडेल, प्रेस सेन्टर मोरङका अध्यक्ष नवीन कर्ण लगायतले सम्बोधन गरेका थिए ।  

समापनमा कार्यक्रममा सहभागि पत्रकारहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । उनीहरूलाई संगालोखबर मिडिया प्रालिका अध्यक्ष रविन कटेल र प्रशिक्षक यज्ञ शर्माले प्रमाणपत्र वितरण गरेका थिए ।

समापन कार्यक्रममा बोल्दै अध्यक्ष कटेलले आगामी दिनमा पनि पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि यस्ता कार्यक्रम सञ्चालन गरिने बताए । उनले तीन दिनको बसाइमा सिकेका कुराहरूलाई व्यवहारमा उतार्दै आफ्नो दक्षता थप बढाउन शुभकामना व्यक्त गरे ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!