
विराटनगर । मोरङको रंगेली नगरपालिकाका १५ वटा सामुदायिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत तीन सय छात्रालाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
छात्रासित उपमेयर कार्यक्रमको अवसरमा बुधबार ब्यागसहित शैक्षिक सामग्री वितरण गरिएको हो । रंगेली नगरपालिकाले छात्रासित उपमेयर कार्यक्रमलाई निरन्तरता दिँदै विज्ञहरूबाट किशोरीहरूलाई अभिमुखीकरण प्रदान गरेको छ ।
किशोरी अवस्थाका परिवर्तनहरू, किशोरीको मनोविज्ञान, पढाइप्रतिको चासो, साइबर अपराधबाट बच्ने उपाय, प्राविधिक तथा सीपमूलक शिक्षा, मानसिक तनाव, कुलत र संगतबाट बच्ने उपाय लगायतका विषयमा उनीहरूलाई जानकारी गराइएको छ ।
रंगेली नगरपालिकाका कार्यवाहक नगरप्रमुख भूमा पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रदीप साह, शिक्षा अधिकृत लीला देवी ओझा, ओरेक नेपालका प्रतिनिधि लगायतको सहभागिता थियो ।
नगरपालिकाले विशेषगरी किशोरी शिक्षा र स्वास्थ्यमा सुधार योजना अघि सार्दै आएको जनाएको छ । कार्यक्रमको मूल नारा ‘रंगेलीको इच्छा छात्रालाई शिक्षा’ रहेको थियो ।

संगालोखबर 
















