
विराटनगर । विराटनगरको रानीस्थित नेपाल-भारत सीमा क्षेत्र तनावग्रस्त बनेको छ । विराटनगर महानगरपालिका-१५ रानीस्थित ३ नम्बर ढाटलाई फलामको सिक्री लगाएर आवतजावत गर्न नमिल्ने गरी बन्द गरिएपछि स्थानीय आन्दोलनमा उत्रिएका हुन् ।
आन्दोलनमा उत्रिएका स्थानीयले जोगवनी बजार प्रवेशको मुख्य नाका १ नम्बर ढाट बन्द गरेरका छन् । स्थानीयको आन्दोलनका कारण नेपाल-भारत आवतजावत बन्द भएको छ ।
सीमा क्षेत्रको ३ नम्बर ढाट कोरोना महामारीदेखि नै बन्द गरिएको थियो । ढाटमा सवारी आवागमन पूर्णरूपमा बन्द गरिएको भएपनि मानिस आवत-जावतमा समस्या थिएन ।
तर आजबाट मानिससमेत हिँड्न नमिल्ने गरी फलामको सिक्री लगाएर ढाट बन्द गरिएपछि ढाट नजिकको चाइना मार्केटका व्यापारी, स्थानीय र सीटी सफारी चालकहरू आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलनमा उत्रिएका स्थानीयले ३ नम्बर ढाटको आवतजावत खुला गर्नुपर्ने माग गर्दै १ नम्बर ढाट बन्द गराएका हुन् । आक्रोशित बनेका स्थानीयले मानिस तथा सवारीसाधनले आवतजावत गर्न मिल्ने गरी ३ नम्बर ढाट खुला राख्नुपर्ने माग गर्दै तोडफोडको प्रयाससमेत गरेका छन् ।
स्थानीय तोडफोडमा उत्रिने प्रयास गरेपछि प्रहरीले सामान्य लाट्ठी चार्ज गरेको छ । घटनास्थलमा ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ । स्थितिलाई नियन्त्रणमा लिन लाट्ठी चार्ज गर्नु परेको प्रहरीले जनाएको छ ।
अहिले अवस्था सामान्य भएको मोरङका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्र कुमार मिश्रले जानकारी दिए । ‘अहिले स्थानीयले बन्द गरेको १ नम्बर ढाट पनि खुलिसकेको छ’, उनले भने, ‘१ नम्बर ढाट सुचारु भइसकेको छ । अवस्था सामान्य भइसक्यो ।’

संगालोखबर 
















