संगालोखबर
तस्बिर : एआईको सहयोगमा

विराटनगर । कोशी प्रदेश प्रहरीको लागूऔषधविरुद्धको महाअभियान अन्तर्गत एकैदिन १९ जना पक्राउ परेका छन् । लागूऔषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ सुरु गरिएको अभियानमा बुधबार १९ जना पक्राउ परेका हुन् ।

प्रहरीले पक्राउ परेका व्यक्तिहरूको साथबाट ४४ ग्राम ८६० मिलिग्राम ब्राउन सुगर, ६२ किलोग्राम गाँजा, ट्रामोल ९०४ क्याप्सुल, कोलिभान १२६६ क्याप्सुल, ४ थान मोटरसाइकल, २ थान अटो र नगद १३ हजार २ सय ६० रुपैयाँ बरामद गरेको छ ।

Advertisement

चेकजाँचको क्रममा झापाको अर्जुनधारा नगरपालिका-५ का भरत मोहरा १ ग्राम ४ मिलिग्राम ब्राउन सुगर र नगद १३ हजार २ सय ६० रुपैयाँसहित पक्राउ परेका छन् । प्रहरीले उनले प्रयोग गरेको प्र १-०१-००२ ह ७८५६ नम्बरको टेम्पो पनि नियन्त्रणमा लिएको छ ।

कमल गाउँपालिका-७ का सनम धिमाल, कमल-६ का प्रदिप दास र हल्दीबारी गाउँपालिका-३ का १५ वर्षीय प्रितम तामाङ ७ ग्राम ५४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् । प्रहरीले उनीहरूले प्रयोग गरेको प्र १-०१-०१२ प ६३७९ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।

यस्तै इलामको सूर्याेदय नगरपालिका-११ का रणधीर प्रधान १ ग्राम २७० मिलिग्राम ब्राउन सुगर र बिर्तामोड नगरपालिका-३ का सुनिल पासवान र उदय पासवान ७९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ परेका छन् ।

प्रहरीले विराटनगर महानगरपालिका-१७ का अरमान मियाँलाई १ ग्राम १७० मिलिग्राम ब्राउन सुगर, लेटाङ नगरपालिका-३ का मनकुमार मगर र हर्क बहादुर तामाङलाई ४ ग्राम २९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।

सुनसरीको रामधुनी नगरपालिका-७ का शिशिर गुरागाईं र इटहरी-१६ का विमल लम्साललाई १ ग्राम ७०० मिलिग्राम ब्राउन सुगर, डिजिटल तराजु र को २७ प ९४३३ नम्बरको मोटरसाइकल सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस्तै बराहक्षेत्र नगरपालिका-१ का राजन राई, सुमन राई, अभिषेक भुजेल, सन्देश राई, बेलका नगरपालिका-४ का रविन राई र आयुषा राई २६ ग्राम ७०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् । प्रहरीले उनीहरूले प्रयोग गर्ने प्रदेश १-०२-०४६ प ९०५४,  स ११ प ४१४० नम्बरको मोटरसाइकल र को २ ह ८९९२ नम्बरको अटो पनि नियन्त्रणमा दिएको छ ।

बराहक्षेत्र नगरपालिका-११ स्थितबाट बोरामा बेवारिसे अवस्थामा राखिएको ६२ किलोग्राम गाँजा पनि प्रहरीले बरामद गरेको छ । धरान उपमहानगरपालिका-९ मा डेरा गरी बस्ने फुर्मा गुरुङलाई ट्रामोल ९०४ क्याप्सुल र कोलिभान १ हजार २६६ क्याप्सुल सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

लागूऔषधमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने तथा मनोपरामर्श र जनचेतना प्रदान गर्ने उद्देश्यले कोशी प्रदेश प्रहरी कार्यालयले अभियान सञ्चालन गरेको हो । पक्राउ परेकाविरुद्ध सम्बन्धित प्रहरी कार्यालयबाट अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!