संगालोखबर


विराटनगर । मोरङको कटहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको दोस्रो गाउँसभाको नवौँ अधिवेशनमा उपाध्यक्ष सीतादेवी राजवंशीले ६२ करोड रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् ।

गाउँपालिकाले संघीय र प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न अनुदान र आन्तरिक आयलाई बजेटको मुख्य स्रोत मानेको छ ।

बजेटमा संघीय सरकारको वित्तीय समानीकरण अनुदानतर्फ १२ करोड ४९ लाख ९० हजार, राजस्व बाँडफाँडबाट १० करोड २० लाख ६१ हजार, रोयल्टी १५ लाख, सशर्त अनुदान १६ करोड ६५ लाख, समपूरक अनुदान ६५ लाख र विशेष अनुदान ९५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

त्यसैगरी प्रदेश सरकारबाट राजस्व बाँडफाँड (सवारी साधन कर) अन्तर्गत ८८ लाख ७३ हजार ५१२, समानीकरण अनुदान १ करोड १६ लाख ९८ हजार, सशर्त अनुदान २ करोड ४५ लाख ९० हजार र समपूरक अनुदान ७४ लाख रुपैयाँ प्राप्त हुने गाउँपालिकाको अनुमान छ ।

कटहरी गाउँपालिकाले चालु आर्थिक वर्षमा ५८ करोड ९१ लाख ४४ हजार ५ सय रुपैयाँ बजेट ल्याएको थियो । चालु आवको भन्दा कटहरीले आगामी आर्थिक वर्षमा तीन करोड रुपैयाँ बढाएर बजेट ल्याएको हो ।

यसपटक पूर्वाधार, कृषि र शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका वन, पर्यटन तथा वातावरण मन्त्री भीम पराजुलीले कटहरीले पूर्वाधार विकासमा गरिरहेको कामको प्रशंसा गर्दै आगामी दिनमा योजनाबद्ध र दिगो विकासका लक्ष्यहरू तय गरेर अघि बढ्न सुझाव दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!