
विराटनगर । विराटनगरको ‘मिथिला थाली विराटनगर प्रालि’ मा अखाद्य रङ र म्याद गुज्रेको खाना फेला परेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले गरेको अनुगमनका क्रममा यस्तै कैफियत पाइएको हो ।
रेस्टुरेन्टले मिठाई बनाउन अखाद्य वस्तु हाइड्रो र कृत्रिम अखाद्य रङ प्रयोग गर्ने गरेको पाइएको छ । भण्डारण कक्षमा म्याद गुज्रेका खाद्यसामग्री भेटिनुका साथै खाना तयार गर्ने भान्साको सरसफाइ अत्यन्तै दयनीय पाइएको कार्यालयले जनाएको छ ।
टोलीले त्यहाँबाट अखाद्य वस्तु प्रयोग गरी बनाइएको १ हजार रुपैयाँको ५ किलो मिठाई, १ हजार ९५ रुपैयाँको म्याद गुज्रेको खाद्यसामग्री, १ थान हाइड्रो र १ थान चम्पाई रङ जफत गरी नष्ट गरेको छ ।
टोलीले अबदेखि अखाद्य वस्तु प्रयोग नगर्न र भान्साको संरचनामा तत्काल सुधार गरी कार्यालयमा सम्पर्क गर्न निर्देशन दिएको छ । विराटनगरकै ‘हाम्रो मिथिला किचन’ मा पनि ढोकामा जाली नभएको र फ्रिजमा खानेकुरा नछोपी खुलै राख्ने गरेको पाइएको छ । अनुगमन टोलीले कमजोरी तत्कालै सुधार गर्न निर्देशन दिएको छ ।


संगालोखबर 


















