
विराटनगर । विराटनगरमा लागूऔषध प्रयोगकर्तालाई नियन्त्रणमा लिन पुगेको प्रहरी टोलीमाथि खुकुरी प्रहार भएको छ । विराटनगर-३ स्थित अनुकरण मार्गमा एक घरमा पुगेको प्रहरी टोलीमाथि खुकुरी प्रहार भएको हो ।
मोहन भट्टराईको घरमा डेरा गरी बस्ने २९ वर्षीय रुबिण कार्कीले धारिलो हतियार खुकुरी प्रहार गरेका हुन् । उनलाई काठमाडौंस्थित सुधारगृह पठाउने तयारी भएको थियो । सोही क्रममा उनले कोठाभित्र पसेर आत्महत्या प्रयास गरेपछि प्रहरीलाई खबर गरिएको थियो ।
खुकुरी प्रहारबाट दुई जना प्रहरी र अन्य एक जना घाइते भएका मोरङ प्रहरीका सूचना अधिकारी मकेन्द्र कुमार मिश्रले जानकारी दिए । अहिले घटनास्थलमा ठूलो संख्यामा प्रहरी टोली पुगेको छ ।
‘पहिला सीआरभी टोली पुगेको थियो’, मिश्रले संगालोखबरसँग भने, ‘उहाँहरूमाथि खुकुरी प्रहार भएपछि अहिले प्रहरीको टोली पुगेको छ ।’ नियन्त्रणमा लिनुपर्ने व्यक्ति चुकुल लगाएर कोठाभित्र बसेका छन् । प्रहरीले उनलाई बाहिर निकाल्ने प्रयास गरिरहेको छ ।

संगालोखबर 


















