
विराटनगर । कोशी प्रदेश प्रहरीको लागूऔषधविरुद्धको महाअभियानअन्तर्गत परिचालित प्रहरी टोलीले १३ जनालाई पक्राउ गरेको छ । लागूऔषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ सुरु भएको अभियान अन्तरगत कोशीका विभिन्न जिल्लाबाट उनीहरूलाई पक्राउ गरिएको हो ।
मनोपरामर्श र जनचेतना प्रदान गर्ने उद्देश्यले अभियान सुरु गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूको साथबाट १६ ग्राम ३६० मिलिग्राम ब्राउनसुगर, ५८८ चक्की प्रतिबन्धित औषधी, गाँजा २० किलो र ४ वटा सवारी साधन बरामद गरिएको छ ।
९१० मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित गौरादह नगरपालिका-२ का ३१ वर्षीय विवेक राजवंशी, गौरादह-२ का २८ वर्षीय रेगन राजवंशी र ३१ वर्षीय संजय कुमार राजवंशी पक्राउ परेका छन् । उनीहरूको साथबाट प्रहरीले प्र १-०१-०१२ प ५६६८ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।
यस्तै मे ९ प ४०७१ नम्बरको स्कुटरमा सवार बिर्तामोड-९ का ३५ वर्षीय राजकुमार कामती र स्कुटर पछाडि सवार उनकी श्रीमती मनिका कामतीलाई ९ ग्राम ८१० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मोरङको कानेपोखरी-७ का २७ वर्षीय समिर राई ४ ग्राम ३०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् । विराटनगर महानगरपालिका-१७ का २५ वर्षीय सोहराब आलमलाई ७४० मिलिग्राम ब्राउन सुगरसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै धरान-११ का २४ वर्षीय मियोङ लिम्बुलाई ट्रामाडोल २९४ क्याप्सुल र प्रतिबन्धित औषधी २९४ चक्की सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । धरान-१५ का २० वर्षीय एमिल राई निट्राजेपाम-५० ट्याव्लेटसहित पक्राउ परेका छन् ।
उदयपुरको उदयपुरगढी-६ का ३० वर्षीय नर बहादुर पुलामी मगरलाई २० किलोग्राम गाँजा सहित प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै धनकुटा नगरपालिका-७ का २९ वर्षीय दर्शन राई, धनकुटा-१० का २८ वर्षीय नमुनेश भुजेल र सहिदभूमि-२ का २३ वर्षीय आयुष राई ६०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् ।
उनीहरूको साथबाट प्र ३-०२-००१ प ८४३० को स्कुटर र प्र-०२-०५० प ६५६६ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरूमाथि सम्बन्धित प्रहरी कार्यालयबाट अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

संगालोखबर 


















