चितवन, ९ कात्तिक। तीन चरणमा भएको स्थानीय तह निर्वाचन धेरैले उम्मेदवारी दिए। केहीले जिते, अधिकांसले हारे। हारेपनि निरन्तर चर्चामा छन्, भरतपुर महानगरपालिकामा एमालेका मेयरका उम्मेदवार देवी ज्ञवाली, जो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कि छोरी रेणु दाहालसँग पराजित भए।

तिनै ज्ञवाली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बुधबार विहान एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा भेट भयो। निकै छोटो त्यो भेटघाटमा चितवनको चुनावी अवस्थाबारेपनि कुराकानी भएको थियो। प्रस्तुत छ, ज्ञवालीसँग नेपालखबरले बुधबार साँझ गरेको वार्ताको सम्पादित अंशः

चितवनमा वाम गठबन्धनले जित्ला त?
‘मनसा बचेन कर्मणा’ अर्थात् यो एकतालाई सफल पार्न नेताहरू भित्री हृदयदेखि नै लाग्ने हो भने देशभरि नै वामपन्थी उम्मेदवारहरु भारी मतान्तरले विजयी हुनेछन्। यो गठबन्धनले दुई तिहाई बहुमत हासिल गर्नेछ। जहाँसम्म चितवनको कुरा हो, चितवनमा त तीनवटा संघीय क्षेत्र र प्रदेश सभाका ६ वटा सिट गरी ९ वटा क्षेत्र नै हामीले जित्छौँ।

कसरी जित्नुहुन्छ?
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उठ्ने भनेर चर्चा भइरहेको चितवन ३ कै कुरा गरौँ। त्यस क्षेत्रमा भरतपुर महानगरपालिकाका २९ मध्ये २० वटा वडा पर्छन्। त्यहाँ मैले ४२ हजार ९ सय मत प्राप्त गरेको थिएँ। रेणु दाहालजीले ४३ हजार १ सय मत प्राप्त गर्नुभएको थियो।

वडाको मतसंख्या हेर्ने हो भने, माओवादी एक्लैको २१ हजार भन्दा बढि मत छ। एमालेले वडामा ३८ हजार ५ सय मत पाएको छ। कांग्रेसको पनि ३७–३८ हजार मत छ। चितवन ३ मा नै पर्ने माडीमा माओवादी केन्द्र एक्लैले ४ हजार भन्दा धेरै मत ल्याएको छ।

त्यहाँ १२ मध्ये ६ वटा वडा एमाले र ३ वटा वडा माओवादी केन्द्रले जितेको छ। कांग्रेसले ३ वटामात्र वडा जितेको छ। अर्थात् माडीमा मात्र वामपन्थी मत कांग्रेसको तुलनामा ८ हजार बढि छ। भरतपुरका २० वटा वडामा एमाले र माओवादी केन्द्रले पाएको मत जोड्ने हो भने कांग्रेसको तुलनामा कता हो कता धेरै हुन्छ।

राप्रपाको मतपनि त छ नि?
यदि राप्रपाले कांग्रेसकै उम्मेदवारलाई मत दियो भनेपनि हामी सुविधाजनक ढंगले जित्छौँ। त्यहाँ राप्रपाले पाएको मत भनेको कुल ८–९ हजार हो। त्यो मत कांग्रेसकै भागमा हाल्ने हो भने पनि चितवन ३ मा अहिलेकै स्थितिमा वामपन्थी उम्मेदवारले ९–१० हजार मतान्तरले जित्ने स्थिति छ। एकताभावले गर्दा अझ धेरै मतान्तरले जित्न सक्छौँ।

स्थानीय चुनावमा तपाईंले पाएको सबै मत एमालेका होइनन्। रेणु दाहालले पाएका मतपनि माओवादी केन्द्रका मात्र होइनन्। दुवैलाई कांग्रेसका मत परेका छन्। यस्तो स्थितिमा स्थानीय निर्वाचनको मतलाई आधार बनाउन सकिएला र?
हो, हामी दुवैले कांग्रेसका मत पाएका छौँ। तर, त्यो मत त मेयरमा पाएको मतमात्र हो। मैले वडातहको मतको हिसाव गरेर भन्दैछु। मेयरकै कुरा गरौँ। मैल करिव ४३ हजार मत पाएँ।

त्यहाँ उपमेयरमा एमाले उम्मेदवारले ३९ हजार मत पाउनु भएको छ। मानौँ, मैले पाएको त्यो ४–५ हजार मत कांग्रेसकै हो रे। एमाले र माओवादी केन्द्रले वडाअध्यक्षमा पाएको मत हेर्दा त हामी मज्जासँग, ढुक्कसँग जित्छौँ नि त।

स्थानीय निर्वाचनको तिक्तता यतिचाँडो बिर्सेर एमालेका कार्यकर्ताले प्रचण्डलाई भोट देलान् त?
हिजो एमालेलाई रोक्न कांग्रेसले माओवादीलाई बोकेको थियो। एमाले प्रमुख दल बन्ने स्थितिमा एमालेलाई रोक्न कांग्रेस एक्लै सक्षम थिएन। एमालेले जित्नुभन्दा बरु माओवादीलाई दिऊँ भनेर उसले माओवादीको सहारा लियो। एमालेविरुद्ध माओवादीलाई हतियार बनायो।

कसले कसका विरुद्ध प्रयोग गरेका छन् भन्ने कुरा एमालेका जेन्टल कार्यकर्ताहरुले बुझिहाल्छन्। राजनीतिमा एमाले विरुद्ध माओवादीको प्रयोग भएको थियो। तर माओवादी झस्क्यो।

५५ स्थानका स्थानीय निकाय र कार्यपालिकामा उसले कांग्रेससँग एकता गरेको थियो। त्यसमध्ये ४९ भन्दा बढिमा कांग्रेसले जित्यो। ४–५ वटामा मात्र माओवादी केन्द्रले जित्यो। अर्थात् चुनावी एकताबाट माओवादी केन्द्रले भन्दा कांग्रेसले फाइदा लियो। यो कुराको अनुभूति माओवादी केन्द्रले ग¥यो। त्यसपछि अहिलेको एकता सम्भव भएको हो।

त्यसो भए चितवनमा एमालेको मत माओवादी केन्द्रलाई र माओवादी केन्द्रको मत एमालेलाई सहज रुपले जान्छ त?
अब त्यतिधेरै समस्या छैन। हालेनन् नै भनेपनि एकाध कार्यकर्ताले नहाल्लान्। हिजो लोकतान्त्रिक प्रक्रिया र संस्कारमाथि धावा बोल्दा हाम्रा एकाध कार्यकर्ताको चित्त दुखेको होला।

म ती कार्यकर्ताहरुलाई के भन्न चाहन्छु भने, तपाईंहरु एमाले हुनुभएको समाज परिवर्तनका लागि हो। व्यक्तिगत स्वार्थका लागि होइन। हिजो एमालेविरुद्ध माओवादी केन्द्रलाई कांग्रेसले हतियार बनाउन खोज्यो। तर त्यो हतियार अहिले हामीले खोसेका छौँ। अहिले माओवादी केन्द्र हाम्रो सहयोगी बनेको छ। यो कुरा हाम्रा कार्यकर्ताले बुझेका छन् र प्रचण्डजीको पक्षमा मतदान गर्छन्।

माओवादीलाई हिजो कांग्रेसले हतियार बनायो, अहिले एमालेले बनायो। होइन?
यो एकतालाई हामीले चुनावी हतियार बनाउन खोजेका छैनौँ। एमाले र माओवादी केन्द्र दुवैले भनेका छन्, ‘यो एकतालाई दीर्घकालिन लक्ष्यका लागि प्रयोग गर्नुपर्छ। एकिकृत कम्युनिष्ट पार्टी निर्माण र त्यसमार्फत् हामीले प्राप्त गर्नुपर्ने समाजवादी लक्ष्यका लागि लाग्नुपर्छ।’

पार्टी एकताको घोषणाको दिन जारी गरिएको ६ बुँदे घोषणापत्रमा पनि यी कुरा उल्लेख छन्। त्यसैले, अहिलेको एकता एकले अर्कालाई हतियार बनाउने उद्देश्यका लागि होइन, एकिकृत कम्युनिष्ट पार्टी निर्माण र त्यसमार्फत् समाजवादी लक्ष्य प्राप्तिका लागि हो।

चितवनमा तल्लो तहमा दुई पार्टीबीच कस्तो सम्बन्ध छ?
सबै कुरा राजनीतिले निर्धारण गर्छ। तल्लो तहमा जे हुन्छ, त्यो राजनीतिका कारणले हुने हो, व्यक्तिगत शत्रुताका कारणले होइन। हिजो राजनीतिक रुपमा अन्र्तद्वन्द्व थियो, त्यसैले तल्लो तहमा सुमधुर सम्बन्ध थिएन। अहिले हामीले राजनीतिक अन्र्तद्वन्द्व नै अन्त्य गरिसक्यौँ, अब राजनीतिक विषयवस्तुलाई केन्द्रमा राखेर अघि बढ्न तयार भइसकेका छौँ।

ओली निवासमा बुधबार भएको प्रचण्डसँगको भेट माथिबाटै सम्बन्ध सुधार गर्ने योजना अन्तर्गत भएको हो कि?
होइन,संयोगमात्र होला। यदि नेताहरुको दिमागमा थियो र त्यो भेटघाटको अवसर जुटाइएको हो भने नेताहरुले नै जान्नु भएको होला। तर मलाई प्रचण्ड आउनुहुन्छ भन्ने जानकारी थिएन। म एउटा कामले काठमाडौँ आएको थिएँ, त्यसैक्रममा पार्टी अध्यक्षलाई भेटौँ भनेर बालकोट गएको हुँ।

भेटघाटको समय कसरी मिल्यो?
मैले अध्यक्ष ओलीका सहयोगीमार्फत समय मागेको थिएँ। उहाँहरुले आउनुस् न, भेट भईहाल्छ भन्नुभएको थियो। म जाँदा संयोगवस भेट भयो।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!