काठमाडौं, ९ कार्तिक । आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ४५ जिल्लामा बिहीबार निर्वाचन कार्यालय स्थापना गरिएका छन् ।
निर्वाचन आयोगले जनाए अनुसार दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लाहरुमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएका हुन् ।
दोस्रो चरण अन्तरगत प्रतिनिधिसभातर्फ १२८ र प्रदेशसभा सदस्यतर्फ २५६ निर्वाचन क्षेत्रमा निर्वाचन हुँदैछ । दोस्रो चरणमा १ करोड २१ लाख ९८ हजार ८५२ मतदाताले मताधिकारको प्रयोग गर्ने जनाइएको छ ।
दोस्रो चरणको निर्वाचनका लागि कात्तिक १६ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम तोकिएको आयोगका प्रवक्ता नवराज ढकालले बताए ।