
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा असार ६ गते ऐतिहासिक ‘बृहत् सनातन सम्मेलन’ आयोजना हुने भएको छ । नेपालको सनातन सभ्यता, संस्कृति तथा धार्मिक सहिष्णुतालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ सम्मेलन हुन लागेको हो ।
‘सनातन सभ्यताको शान, हिन्दु, बौद्ध, किराँतको साझा पहिचान’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको सम्मेलनले सदियौंदेखि नेपालमा कायम रहेको धार्मिक सद्भाव, सहअस्तित्व र सहिष्णुताको जगलाई अझ मजबुत बनाउने लक्ष्य राखेको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
सम्मेलनमा नेपाल तथा भारतका प्रख्यात आध्यात्मिक गुरुहरूको विशेष उपस्थिति रहने जनाइएको छ । कार्यक्रममा आध्यात्मिक व्यक्तित्वका रूपमा भारतको जुना अखडाका परमपूजनीय आचार्य महामण्डलेश्वर स्वामी अवधेशानन्द गिरी महाराज, अन्तर्राष्ट्रिय बौद्ध महासंघ नेपाल च्याप्टरका अध्यक्ष फुपु छेम्बे शेर्पा (थुप्तेन जिग्डोल) र किराँत धर्मका प्रमुख गुरु एवं राष्ट्रिय विभूति फाल्गुनन्द अवतारका रूपमा सम्मानित महिङ्गुम अङ्सीमाङ आत्मानन्द लिङ्देन ‘सेइङ’ सहभागी हुनेछन् ।
विराटनगर-१ स्थित जिल्ला प्रहरी कार्यालयसँगैको मैदानमा आयोजना हुने सम्मेलन बिहान ११ः३० बजेदेखि सुरु हुने छ । सम्मेलनमा नेपालका विभिन्न प्रदेश, जिल्ला तथा स्थानीय तहहरूबाट हजारौँको संख्यामा श्रद्धालु, धर्मप्रेमी एवं दर्शनार्थीहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार यो सम्मेलन कुनै विशिष्ट सम्प्रदायको मात्र नभई राष्ट्रिय एकता, सामाजिक सद्भाव र आध्यात्मिक चेतनाको साझा मञ्च हो । आयोजकले ऐतिहासिक कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल पारिदिन सम्पूर्ण धर्मप्रेमी, राष्ट्रप्रेमी, बुद्धिजीवी, व्यवसायी, सञ्चारकर्मी तथा आम नागरिकहरूलाई अनुरोध गरेको छ ।

संगालोखबर 



















