
विराटनगर । विराटनगर-१० स्थित शुभ होटलमा बसेका भारतीय युवकको शंकास्पद मृत्यु भएपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । भारतको बिहार राज्यस्थित सहरसा निवासी २४ वर्षीय प्रिन्स यादवको मृत्यु भएपछि प्रहरीले चार जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले मृतकसँगै रहेका भारत बिहारको सहरसाका २५ वर्षीय अंकितकुमार यादव, २७ वर्षीय रोशन यादव, २१ वर्षीय लटु यादव र ३० वर्षीय जयराम यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
प्रहरीका अनुसार यादव भारतमा भएको एउटा घटनाका फरार प्रतिवादी रहेको खुलेको छ । उनी भारतीय प्रहरीको खोजी सूचीमा थिए । होटलमा बसिरहेका उनी शनिबार राति ११ बजेतिर बिरामी परेका थिए । उनलाई उपचारका लागि न्युरो अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रिन्स यादव बिहारका शिक्षा व्यवसायी तथा ‘ज्ञान बिन्दु एकेडेमी’का सञ्चालक रोशन आनन्दका भाइ हुन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार पटना केन्द्रित ‘खान सर’सँग जोडिएको विवाद तथा खान ग्लोबल स्टडीजमा भएको आक्रमण र तोडफोड प्रकरणमा उनीविरुद्ध एफआईआर दर्ता गरिएको थियो । त्यसपछि उनी फरार भएका थिए ।
मृतकको शव पोस्टमार्टमका लागि कोशी अस्पतालमा राखिएको मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठले जानकारी दिए । रिपोर्ट प्राप्त भएपछि मात्रै मृत्युको वास्तविक कारण खुल्ने प्रहरीले जनाएको छ ।

संगालोखबर 



















