
विराटनगर । कोशी प्रदेशस्तरीय बीमा सम्बन्धी अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगितामा विराटनगरको मेरिल्याण्ड माध्यमिक विद्यालय प्रथम भएको छ ।
नेपाल बीमा प्राधिकरण कोशी प्रदेशको आयोजनामा भएको प्रतियोगितामा सहभागि ६ विद्यालयलाई पछि पार्दै मेरिल्याण्ड प्रथम भएको हो । प्रथम भएको मेरिल्याण्डले २० हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेको छ ।
यस्तै प्रतियोगितामा शिक्षादीप माध्यमिक विद्यालय द्वितीय र पोखरिया माध्यमिक विद्यालय तृतीय भए । उनीहरूले क्रमशः १५ र १० हजार नगदसहित प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा विराटनगरका ६ विद्यालय सहभागि थिए ।
विजेता विद्यालयका विद्यार्थीहरूलाई नेपाल बीमा प्राधिकरण कोशी प्रदेश प्रमुख प्रीति देवले लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।
बीमा शिक्षालाई विद्यालयस्तरमै विस्तार गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको र यस्ता कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिइने प्रमुख देवले बताइन् । बीमाप्रतिको जनचेतना विस्तार गर्न विद्यार्थीहरूको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ ।
यस्ता कार्यक्रमले विद्यार्थीहरूमा वित्तीय अनुशासन, जोखिम व्यवस्थापन तथा बीमाको महत्वबारे ज्ञान वृद्धि गर्ने उनको विश्वास छ । उनले बीमाको विषयमा आगामी दिनमा समेत विद्यालयस्तरमा विविध कार्यक्रम गरिने जानकारी दिइन् ।
प्रतियोगिताको सहजीकरण क्विज मास्टर मनोज तिवारीले गरेका थिए । प्रतियोगितामा सहभागी विद्यार्थीहरूले बीमा क्षेत्रसँग सम्बन्धित विविध विषयमा आफ्नो ज्ञान र क्षमता प्रस्तुत गरेका थिए ।

संगालोखबर 


















