संगालोखबर


विराटनगर । कोशी प्रदेश सरकारले मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकाय, स्थानीय तह तथा सरोकारवाला निकायहरूसँग समन्वय गरेर पूर्वतयारीलाई तीव्र बनाउने निर्णय गरेको छ ।

विराटनगरमा सम्पन्न प्रदेश स्तरीय सुरक्षा समन्वय समितिको बैठकमा विपद् जोखिम न्यूनीकरण, उद्धार तथा राहत व्यवस्थापनसँग सम्बन्धित विविध विषयमा विस्तृत छलफल भएको हो ।

Advertisement

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीको अध्यक्षता तथा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा मनसुनका कारण उत्पन्न हुन सक्ने बाढी, पहिरो, डुबान तथा अन्य विपद्जन्य घटनाको प्रभाव न्यूनीकरणको उपायका बारेमा गहन छलफल भएको छ ।

बैठकले विराटनगर-१६ र झापाको मेचीनगर नगरपालिका-६ मा रहेको होल्डिङ सेन्टरलाई सञ्चालनमा ल्याएर लागूऔषध दुर्व्यसनमा परेका युवायुवतीहरूको उपचार, सुधार तथा पुनर्स्थापनाका लागि प्रयोग गर्ने विषयमा कार्यदल गठन गरी संघीय सरकारसमक्ष आवश्यक पहलका लागि अनुरोध गर्ने निर्णय समेत गरेको छ ।

त्यसैगरी वर्षात्का कारण इलाममा क्षति पुगेका घरहरूको पुनःनिर्माणका लागि आवश्यक लागत रकम स्वीकृत गर्न सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकमा विगतका मनसुनजन्य विपद्का घटनाहरूको अध्ययन गरी मानविय तथा भौतिक क्षतिको विश्लेषण गर्ने, विपद्का समयमा देखापर्न सक्ने समस्या तथा चुनौतीहरूको पहिचान गर्दै प्रभावकारी तयारी गर्ने विषयमा विशेष जोड दिइएको थियो ।

बाढी र पहिरोको उच्च जोखिममा रहेका क्षेत्रहरूको पहिचान गरी सुरक्षित स्थानको व्यवस्था गर्ने, सम्भावित प्रभावित नागरिकको सुरक्षित स्थानान्तरणका लागि पूर्वतयारी गर्ने तथा विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्रलाई सक्रिय अवस्थामा राख्ने निर्णयसमेत गरिएको छ ।

बैठकमा कोशी प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्रकुमार पौडेल, प्रदेश स्तरीय सुरक्षा समितिका पदाधिकारीहरू, झापा, मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारीहरू तथा जिल्ला प्रहरी प्रमुखहरूको सहभागिता थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!