
विराटनगर । मोरङको सीमावर्ती क्षेत्र जहदा गाउँपालिका-७ बाट सशस्त्र प्रहरीले गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म सोराभाग, बिओपि नोचा र तारेगामाबाट खटिएको संयुक्त टोलीले बुधबार राति ठूलो परिमाणमा गाँजा बरामद गरेको हो ।
सशस्त्र प्रहरीका अनुसार ९२२ केजी गाँजासहित एउटा पिकअप र मोटरसाइकल नियन्त्रणमा लिएको हो । पिकअप र मोटरसाइकल चालक भने फरार छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
लक्ष्मनियाबाट सीमावर्ती क्षेत्र तारीगामातर्फ जाँदै गरेको को १ ख ७०२२ नम्बरको पिकअप गाडीलाई बिआर ३८ जेड ७४५२ नम्बरको भारतीय मोटरसाइकलले स्कटिङ गरिरहेको अवस्थामा सशस्त्रले पिछा गरेको थियो । सुरक्षाकर्मीले पिछा गरेपछि चालकहरू गाडी र मोटरसाइकल छाडेर फरार भएका हुन् ।
पिकअप गाडीभित्र धानको भुसको बोराले छोपेर लुकाइएको अवस्थामा २९ पोका गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्रले बरामद गरिएको गाँजा, गाडी र मोटरसाइकललाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीमा बुझाएको छ ।

संगालोखबर 

















