
विराटनगर । विराटनगर विमानस्थलभित्र सञ्चालित होटल तथा क्याफेहरूले उपभोक्तासँग अंकित मूल्यभन्दा अत्यधिक बढी रकम असुल्ने गरेकाे पाइएकाे छ ।
अनुगमनका क्रममा मनपरि शुल्क असुल्ने विमानस्थलभित्रका चारवटा होटल तथा क्याफेलाई १२ लाख रुपैयाँ जरिवाना गरिएको छ । यात्रु तथा सर्वसाधारणबाट विमानस्थलभित्रका पसलहरूले मनपरी मूल्य लिने गरेको गुनासो लगातार आएपछि जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा मंगलबार साँझ संयुक्त अनुगमन भएकाे थियाे ।
अनुगमनका क्रममा विमानस्थल परिसरभित्र सञ्चालित चारवटा व्यवसायले वस्तुमा अंकित खुद्रा मूल्य भन्दा धेरै बढी रकम लिएको भेटिएको हो । अनुगमन टोलीले तत्काल कानुनी कारबाही गर्दै प्रत्येक व्यवसायलाई तीन–तीन लाख रुपैयाँका दरले जरिबाना गरेको छ ।
अनुगमनका क्रममा विराटनगर विमानस्थलको बोर्डिङ कक्षमा सञ्चालित ममता होटेलले एक सय रुपैयाँ मूल्य अंकित डेरी मिल्क चकलेट दुई सय रुपैयाँमा बिक्री गरेको फेला परेको थियो । त्यस्तै, विमानस्थलको क्यान्टिनमा सञ्चालित ग्यालेक्सी क्याफे एण्ड होटेल प्रालिले ५० रुपैयाँ मूल्य रहेको कोकाकोलाको बोतल एक सय ६० रुपैयाँमा बिक्री गरी बिल काटेको भेटिएको छ ।
यस्तै, विमानस्थल परिसरमै सञ्चालित गरिमा क्याफेले ५० रुपैयाँ पर्ने कोकाकोलालाई ८० रुपैयाँमा बिक्री गरेको पाइएको छ । अनुकुल होटेल एन्ड भान्सा घरले ८ रुपैयाँ मूल्य अंकित चकलेटलाई १७ रुपैयाँ ६९ पैसामा बिक्री गरेको तथ्य अनुगमन टोलीले फेला पारेको छ ।
उपभोक्ताबाट चर्को मूल्य असुली गरिएको पुष्टि भएपछि चारवटै व्यवसायमाथि उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड (ङ) अन्तर्गत कसुर कायम गरिएको हो । सोही ऐनको दफा ३९ को उपदफा (१) को खण्ड (ख) बमोजिम प्रत्येक व्यवसायलाई तीन लाख रुपैयाँका दरले जरिबाना गरिएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोइरालाले जानकारी दिए ।
उनका अनुसार कारबाही गरेर चारवटै होटल तथा क्याफेहरूबाट १२ लाख रुपैयाँ जरिबाना असुल गरिएको छ ।
अनुगमन टोलीमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमित्त कार्यालय प्रमुख हितेश बस्नेत, जिल्ला प्रशासन कार्यालय मोरङका प्रशासकीय अधिकृत सन्तोष घिमिरे, वडा प्रहरी कार्यालय विराटनगरका इन्स्पेक्टर बेनुकुमार कार्की, उपभोक्ता हित संरक्षण मञ्च नेपाल कोशी प्रदेशका कोषाध्यक्ष विनोद सुवेदी लगायत सहभागी थिए ।

संगालोखबर 

















