
विराटनगर । ह्यासट्याग इभेन्ट र विश्व हिन्दु परिषद् नेपालको सहकार्यमा विराटनगरमा पहिलोपटक ‘भजन जामिङ’ कार्यक्रम हुने भएको छ । सनातन धर्मको संरक्षण, संवद्र्धन तथा धार्मिक जागरणको उद्देश्यसहित बालसंस्कार केन्द्र सञ्चालनका लागि सहयोग जुटाउन कार्यक्रम आयोजना गरिएको हो ।
आयोजकका अनुसार हिन्दू युवाहरूमा बढ्दो क्लब संस्कृति र नशाजन्य प्रवृत्तिलाई निरुत्साहित गर्दै धार्मिक तथा सांस्कृतिक गतिविधिप्रति आकर्षित गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको ह्यासट्याग इभेन्टका अध्यक्ष कौशल अग्रवालले जानकारी दिए ।
मनोरञ्जनसँगै सनातन संस्कृतिको संरक्षण र प्रवर्द्धनलाई जोड दिँदै भजनमार्फत धार्मिक चेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको पत्रकार सम्मेलनमार्फत आयोजकले जानकारी गराएको हो ।
कार्यक्रम जेठ ३० गते शनिबार बेलुका ६ बजे विराटनगरस्थित जैन भवनमा हुनेछ । कार्यक्रममा भारतका चर्चित भजन गायक गजेन्द्र प्रताप सिंहले आफ्नो प्रस्तुति दिने छन् । टिकटको मूल्य तीन सयदेखि शुरु हुने आयोजकको भनाइ छ ।
कार्यक्रमले धार्मिक तथा सांस्कृतिक मूल्य-मान्यताको संरक्षणमा योगदान र्पुयाउने आयोजकको विश्वास छ । सल्लाहकार नवल प्रसाद उपाध्यायले धार्मिक गतिविधि झल्काउने यस्ता कार्यक्रमले सामाजिक सेवासँगै धार्मिक पर्यटनमा समेत सहयोग पुर्याउने बताए ।

संगालोखबर 

















