कृष्ण केसी, नेपाली काङ्ग्रेस कार्यकर्ता, बागलुङ

Advertisement

विसं. २०४४ मा नेपाली काङ्गे्रसको सदस्यता लिएर काङ्ग्रेसको निष्ठावान कार्यकर्ताका रूपमा ३० वर्षे अनवरत यात्रा गरेका बागलुङका कृष्ण केसी प्रदेश सभाको टिकट वितरणप्रति रुष्ट बनेका छन् । केसीले नेपाली विद्यार्थी सङ्घको जिल्ला उपाध्यक्ष हुँदै विसं. २०५९ देखि १४ वर्षसम्म तरुण दल बागलुङ अध्यक्षको जिम्मेवारी निर्वाह गरेका थिए ।

गत स्थानीय निकायको निर्वाचनमा बडिगाड गाउँपालिकाको अध्यक्षको आकाङ्क्षी रहेका उनीलाई अन्तिम समयमा प्रतिस्पर्धा गर्नबाट रोकियो । प्रदेश सभाका लागि बलियो उम्मेदवारीको आशा गरेका केसीलाई यसपटक पनि उम्मेदवारीबाट वञ्चित गराइयो ।

मूल नेतृत्वले टिकट वितरणमा गरिएको व्यवहारबाट तीव्र असन्तुष्टि जनाएका केसी आफ्नो गुनासा सुनाउन रातोपाटी कार्यालयमै आइपुगेका थिए । रातोपाटी कार्यालयमा केसीसँग गरिएको कुराकानीः

 नेपाली काङ्ग्रेसले बागलुङको प्रतिनिधि सभा–२ अन्तर्गत प्रदेश सभा ‘क’ मा तपाईंलाई मूल नेतृत्वले किन पत्याएन ?
म सधैँ सडकमा छु । मूल नेतृत्वलाई केन्द्रले नोट र भोट व्यवस्था गरिदिनुपर्छ भन्ने आग्रह गरेको थिएँ । म आर्थिक रूपमा सबल छैन । सोही कारण नवधनाढ्य कार्यकर्ता खोजियो । पार्टीका लागि मैले बलिदान गरेको छु तर नेताहरूको ढोका चाहार्ने मेरो प्रवृत्ति नभएको तथा चाकडी प्रथाको विरोधी भएकाले मैले टिकट पाउन सकिनँ ।

टिकटका लागि नेताहरूकहाँ पुग्नु भएन ? 
भोटका लागि तारन्तार नेताका जी हजुर गर्ने मेरो बानी छैन । प्रदेश सभाका लागि टिकट वितरण हँुदै गर्दा पार्टी सभापति शेरबहादुर देउवालाई भेट्न प्रयत्न गरेँ तर भेट्न दिइएन ।

अनेक प्रयत्न गर्दा पनि प्रधानमन्त्रीसँग मेरा आफ्ना कुराहरू राख्न पाइनँ । दलका नेताहरू रामचन्द्र पौडेल, पूर्णबहादुर खड्का, विमलेन्द्र निधि र ज्ञानेन्द्र कार्की लगायतलाई भेटेर मेरो आकाङ्क्षा राखेँ तर पनि मेरो सुनुवाइ गरिएन ।

तपाईंलाई टिकट दिइएको भए जित्ने आधार के–के थिए ?
नेपाली काङ्ग्रेसको कर्तव्यनिष्ठ कार्यकर्ता हुँ । जिल्लामा १४ वर्ष तरुण दलको अध्यक्ष हुँदा गैरकानुनी कुनै कार्य गरिनँ । दुःख कसैलाई दिइनँ । नेपाली काङ्ग्रेसको सङ्गठन बनाउन बागलुङको तत्कालीन ५९ वटै गाविसमा पुगेको थिएँ ।

मैले बनाएको सङ्गठन नै मेरो जित्ने आधार हुन् । मलाई गाउँपालिकाबाट प्रदेश सभाका लागि सर्वसहमतिमा सिफारिस गरिएको थियो । काङ्ग्रेस भएकै कारण विसं. २०५७ मा माओवादीबाट पीडित भएको कारण थिएँ । मेरो सक्रियताले नेपाली काङ्ग्रेसमा सङ्गठित भएका साथीहरूको सहयोगले मैले जित्ने थिएँ ।

वामपन्थी गठबन्धन बनिरहेको अवस्थामा तपाईंले टिकट नपाउनुले नेपाली काङ्ग्रेसलाई  तपार्इंको क्षेत्रमा अझ अप्ठ्यारो स्थिति आउने तपार्इंको सोच हो ? 
अवश्य । बागलुङमा हामी यसै पनि कमजोर छौँ । निष्ठावान कार्यकर्ताले टिकट नपाउँदा काङ्ग्रेस समर्थितहरूमा निराशा छाएको छ । बागलुङको क्षेत्र नम्बर दुई अन्तर्गतको प्रदेश ‘क’मा  मेरो उम्मेदवारी नहुँदा नेपाली काङ्ग्रेसका स्थानीय साथीहरूको गुनासो बढेको छ । जनाधार भएको व्यक्तिलाई अवसर नदिएपछि त्यसको फाइदा त अर्को पक्षले उठाउँछ नै ।

अब के गर्नुहुन्छ ?
टिकट वितरण अपारदर्शी तरिकाले भएको छ । दलको मूल नेतृत्वलाई पुनः भेट्छु । ३० वर्ष नेपाली काङ्ग्रसको झोला बोकेर हिँडे । अब पनि विना हैसियत नेपाली काङ्ग्रेसको झोले भएर रहन नसक्ने कुरा राख्छु ।

मैले बनाएका कार्यकर्ता र मेरो सधैँ उस्तै हैसियत रहिराखे अब मैले किन नेपाली काङ्ग्रेसको  झोला बोक्ने ? भूमिकाविहीनको कार्यकर्ता भइराखेर जिल्लामा जान नसक्ने मेरो स्पष्ट धारणा छ । मूल नेतृत्वबाट मलाई चित्त बुझ्दो स्थान नदिएमा म गाउँ जान्न ।-रातोपाटी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!