
विराटनगर । विराटनगरको शिक्षादीप कलेजले कक्षा ११ मा भर्ना भएका १ हजार १ सय ३५ जना विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम गरेको छ । विराटनगरको सिटी प्यालेसमा कार्यक्रम आयोजना गरेर विज्ञान सङ्कायमा भर्ना भएका विद्यार्थीलाई स्वागत गर्दै शैक्षिक मार्गनिर्देशन प्रदान गरिएको हो ।
सो अवसरमा प्रवेश परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरिएको छ । ९९ प्रतिशत अंकसहित शुभम झा प्रथम, ९८ प्रतिशतसहित स्नेहा वस्ती द्वितीय र ९४ प्रतिशत अङ्कसहित शशिन खतिवडा तृतीय भएका थिए । प्रवेश परीक्षाको उत्कृष्ट १० भित्र पर्न सफल विद्यार्थी तथा एसईईमा ४ जीपीए ल्याएर शिक्षादीप रोज्ने विद्यार्थीलाई पनि पुरस्कृत गरिएको कलेजका निर्देशक रामचन्द्र अधिकारीले जानकारी दिए ।
कार्यक्रममा कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले कक्षा ११ र १२ को दुई वर्षलाई विद्यार्थी जीवनको ‘टर्निङ पोइन्ट’को रूपमा व्याख्या गर्दै स्पष्ट लक्ष्य, कडा मेहनत र अनुशासन सफलता प्राप्तिका आधार भएको बताए । उनले विद्यार्थीहरूलाई आफ्नो भविष्यको योजना अहिले नै तय गर्न सुझाव दिँदै अभिभावकको मेहनत र विश्वासको सम्मान हुने गरी अध्ययनमा केन्द्रित हुन आग्रह गरे ।
कार्यक्रममा कोशी प्रदेशका वन, पर्यटन तथा वातावरणमन्त्री तथा कलेजका अध्यक्ष भीम पराजुलीले विद्यार्थीलाई सफलताको शुभकामना दिए । सो अवसरमा उत्प्रेरक डा. मिलन गैरेले लक्ष्य निर्धारण, अध्ययनमा एकाग्रता र तनाव व्यवस्थापनबारे प्रशिक्षण दिएका छन् ।

संगालोखबर 

















