
विराटनगर । देशभर बिहीबारको मौसम फरक–फरक प्रकृतिको रहने भएको छ । पहाडी क्षेत्रहरूमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहे पनि तराईका अधिकांश स्थानमा भने अत्यधिक गर्मी कायम रहने मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका धेरै पहाडी भूभागमा वर्षा हुने सम्भावना छ । सुदूरपश्चिमदेखि पूर्वी पहाडसम्मका विभिन्न जिल्लामा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
डडेल्धुरा, दिपायल, धनगढी, वीरेन्द्रनगर, नेपालगञ्ज, जुम्ला, घोराही, जोमसोम तथा धरानमा हल्का वर्षाको सम्भावना रहेको छ भने पोखरा, काठमाडौँ, ओखलढुङ्गा, धनकुटा, जिरी र ताप्लेजुङमा मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। डडेल्धुरा, दिपायल र ताप्लेजुङमा वर्षाको सम्भावना करिब ४० प्रतिशत रहेको छ ।
संघीय राजधानी काठमाडौँमा आज अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ । यता तराईका जिल्लाहरूमा भने गर्मीको प्रकोप कायमै रहने देखिएको छ । भैरहवा, सिमरा, विराटनगर र जनकपुरमा ‘तातो दिन’ रहने पूर्वानुमान गरिएको छ । यी क्षेत्रमा वर्षाको सम्भावना नरहेको मौसम विवरणमा उल्लेख छ ।
विशेषगरी भैरहवामा आज देशकै उच्च तापक्रम मापन हुन सक्ने अनुमान गरिएको छ । त्यहाँ अधिकतम तापक्रम ४० देखि ४२ डिग्री सेल्सियससम्म पुग्न सक्नेछ । नेपालगञ्जमा ३८ देखि ४० डिग्री तथा सिमरा, जनकपुर र धनगढीमा ३७ देखि ३९ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने अनुमान गरिएको छ ।
रातिको समयमा पनि केही स्थानमा वर्षाको सम्भावना कायम रहनेछ । धनगढी, वीरेन्द्रनगर, नेपालगञ्ज, घोराही, भैरहवा र सिमरामा मौसम मुख्यतः सफा रहनेछ भने डडेल्धुरा, दिपायल, काठमाडौँ र ओखलढुङ्गामा आंशिक बदली रहने सम्भावना छ ।
त्यसैगरी जुम्ला, पोखरा, धनकुटा, विराटनगर, जोमसोम, धरान, जनकपुर, जिरी र ताप्लेजुङमा रातिको समयमा पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
तापक्रमका हिसाबले जोमसोम सबैभन्दा चिसो रहनेछ, जहाँ न्यूनतम तापक्रम ८ देखि १० डिग्री सेल्सियस रहने अपेक्षा गरिएको छ । अत्यधिक गर्मी रहेको भैरहवामा भने रातिको तापक्रम पनि २७ देखि २९ डिग्री सेल्सियसको हाराहारीमा रहने मौसम पूर्वानुमान छ ।

संगालोखबर 

















