संगालोखबर


विराटनगर । सङ्घीय सरकारले आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दैछ । संवैधानिक व्यवस्था अनुसार हरेक वर्षको जेठ १५ गते बजेट प्रस्तुत हुँदै आएको छ ।

सोही अनुसार आज सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्नेछन् । गत फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा करिब दुई तिहाइ जनमतसहित बनेको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले आफ्नो पहिलो बजेट ल्याउन लागेको हो ।

Advertisement

बजेट निर्माणमा पार्टीको निर्वाचन वाचापत्र, सरकार गठनपश्चात् सार्वजनिक गरिएको १०० बुँदे शासकीय सुधार कार्य योजना र सदनमा प्रस्तुत विनियोजन विधेयकका प्राथमिकता तथा सिद्धान्तलाई आधार बनाइएको अर्थ मन्त्रालयले जनाएको छ ।

सङ्घीय संसद्का दुवै सदनका सांसदहरूका सुझाव, राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनमा व्यक्त गरेका प्रतिबद्धता र सरकारको सुशासनको मार्गचित्रलाई पनि बजेटको मूल आधार मानिएको छ ।

यसपटकको बजेटलाई थप व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउने लक्ष्य राखिएको छ । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ९० अर्ब रुपैयाँ बराबरको बजेट सिलिङ तोकेको थियो ।

सरोकारवाला निकायहरूको राय र सुझावलाई बजेटमा यथेष्ट स्थान दिइएको बताइएको छ । चालू आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब रुपैयाँको थियो, जसलाई गत भदौ २३ र २४ मा भएको आन्दोलनपछि गठन भएको सरकारका अर्थमन्त्री रामेश्वर खनालले मध्यावधि समीक्षामार्फत बजेटको आकार १६ खर्ब ८८ अर्ब बराबर बनाएका थिए ।

यसपटक सरकारले करिब २० खर्ब हाराहारीमा बजेट ल्याउने अनुमान गरिएको छ । प्रशासनिक सुधारतर्फ सरकारले निजामती कर्मचारीको तलब २७ देखि ५६ प्रतिशतसम्म बढाउने र कर्मचारी संयन्त्रको दलीयकरण अन्त्य गर्न ट्रेड युनियन खारेज गर्ने जस्ता कडा नीतिहरू ल्याउने सम्भावना छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!